साँचो सरकारलाई बुझाएर यातायात नचलाउने व्यावसायीको चेतावनी

  Sampatti News

July 10, 2020

काठमाडौँ । यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पाँच बुँदे माग प्रस्तुत गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको हो।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको बताउँदै आफूहरूलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको उल्लेख गरे ।‘हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं।’

उनले आफूहरूको व्यवसाय चौपट भएको भन्दै अब यातायात सञ्चालन गर्न नसक्ने बताए। उनले भने,‘यातायात सञ्चालन गर्ने हो भने सरकारले सबै यातायातको राष्ट्रियकरण गरेर चलाओस्। राष्ट्रियकरण गर्दा आफूहरूले यातायातको लागत मुल्य पाउनुपर्छ।’

यातायात व्यवसायी चार महिनायता मारमा परेको भन्दै मजदुरहरु पनि समस्यामा परेको बताए। यातायात मजदुरलाई तलब दिनका लागि भएपनि कर्जा छुट, केही अनुदान र सहुलियतमा ऋणको व्यवस्थाको मागसमेत गरे।

त्यस्तै महासंघले विभिन्न पाँच मागहरू अघि सार्दै सरकारले आफूहरूको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। व्यवसायीका मागहरूमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरूको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्ण तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बीमा प्रिमियम छुट समयावधि समायोजन लगायत रहेका छन्।

प्रकाशित मिति:July 10, 2020