नेपाल प्रेस काउन्सिलको चिठि भारतको प्रेस काउन्सिललाई, अनर्गल प्रचारप्रसार बन्द गर्न आग्रह

  Sampatti News

July 10, 2020

काठमाडौँ । प्रेस काउन्सिलले नेपालबारे अनर्गल टिप्पडि गर्ने भारतीय मिडियाका प्रचारप्रसार बन्द गर्न भारतको प्रेस काउन्सिललाई चिठि लेखेको छ । भारतीय मिडियाले नेपालबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालले भारतको प्रेस काउन्सिलको नामलाई पत्र लेखेको हो।

भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई सम्बोधन गर्दै काउन्सिलले यही जुलाइ १० मा पत्र लेखेको छ । पत्रमा भारतीय केही टेलिभिजन च्यानलले नेपालका प्रधानमन्त्री र चिनियाँ राजदूतलाई जोडेर गरिएका अनर्गल प्रचारप्रति कदम चाल्न भारतीय प्रेस काउन्सिललाई आग्रह गरिएको छ।

काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमार्फत भारतीय मिडियाले आधारहीन समाचार पस्केको भन्दै आपत्ति जनाइएको छ।

‘नेपालका प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतको प्रेम सम्बन्ध भएको भन्ने जस्ता कपोकल्पित र बनावटी भिडिओ भारतको जी न्युज च्यानलबाट प्रसारण भएका छन्। र जुन सामाजिक सञ्जालमा सनसनीपूर्ण रूपमा प्रचार गरिएको छ। यस्तो बनावटी भिडिओले कपोकल्पित सूचना मात्रै दिएको छैन, बरु सार्वभौम राष्ट्रको निष्ठामाथि आक्रमण पनि भएको छ,’ काउन्सिलले जारी गरेको पत्रमा उल्लेख छ।

नेपालको सार्वभौमिकतामा आक्रमण हुने गरी अन्य टेलिभिजन च्यानलले पनि आधारहीन सामग्री उत्पादन र प्रसारण गरेकोमा काउन्सिलले ध्यानाकर्षण गरेको छ । यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको ऐतिहासिक निर्णयमा पनि भारतीय टिभी च्यानलले बनावटी समाचार प्रसारण गर्न थालेको पत्रमा उल्लेख छ।

भारतीय मिडियाले नेपालबारे टिप्पणी गरेकोमा नेपालको तर्फबाट कुनै कदम नचालिएको भन्दै सामाजिक सञ्जालमा प्रश्न सोध्न थालिएपछि काउन्सिलले यस्तो पत्र लेखेको हो ।

प्रकाशित मिति:July 10, 2020