पार्टीभित्रको विवाद सुल्झिने बाटोमा छ: प्रचण्ड

Nepal Cover
२८ असार २०७७, आईतवार
image

चितवन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवाद सुल्झिने बाटोमा रहेको बताएका छन् ।

चितवनमा कार्यकर्ताहरूसँग संक्षिप्त विचार राख्दै प्रचण्डले हतारमा निर्णय गरेको भए पार्टी फुटको संघारमा पुगिसक्ने बताए ।

उनले पार्टी एकताका लागि आफूहरू सचेत रहेको बताउँदै तत्कालीन एमाले र माओवादीले पार्टी एकता गर्ने संकल्पका साथ साझा घोषणापत्र र उम्मेदवारले जनताले असाधारण विश्वास जितेको बताए । जनताले दिएको दुई तिहाइ मतलाई कसैले कमजोर पार्न नहुने उनको जिकिर थियो ।

उनले भने, ‘पार्टीको एउटा अध्यक्षको हैसियतले देश र पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्तिम समयसम्म धर्यतापूवर्क पहल गर्ने विश्वास दिलाउँछु ।’

पछिल्लो समय नेकपामा प्रचण्डसँग माधवकुमार नेपाल, झलनाथ खनालसहित स्थायी कमिटीका बहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पद छाड्न दबाव दिएका थिए । तर ओलीले दुवै पद नछाड्ने अडान लिएपछि नेकपा फुटको संघारमा पुगेको स्वयम् नेकपा नेताहरूले बताएका थिए ।

त्यसतर्फ संकेत गर्दै प्रचण्डले भनेका छन्, ‘मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ ।’

उनले भने, ‘जतिसुकै अप्ठ्यारो भए पनि समाधान निस्किन्छ भन्ने विश्वास लिएको छु । अर्को अध्यक्षसँग भएको वार्ताको संकेत पनि हल गर्नुपर्छ भन्नेतिरै छ ।’

सडक आन्दोलन तथा पार्टी कार्यालयमा भइरहेको धर्नातिर संकेत गर्दै उनले हतार गरेर कुनै खालको गतिविधि जरुरी नरहेको बताएका छन् ।