काठमाडौँ । कोरोना भाइरस महामारीका कारण मास्क लगाउनु अत्यावश्यक भइसकेको छ।
नेपाल र भारतमा यतिबेलाको सिजन बिहेबारीको सिजन भएकाले सूनचाँदी र हिरामोतीको महत्त्व बढ्ने गर्दछ।
यसै सन्दर्भमा भारतको गुजरातस्थित सुरतमा व्यापार गरिरहेका एउटा गहना पसलेले बिहेको सिजनलाई ध्यानमा राखेर ६ लाख सम्मको मास्क हिराजडित बनाएको छ।
हिरा जोडेको उक्त मास्कको भारतीय मूल्य ४ लाख जति राखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। योसँगै यतिबेला ती गहना पसलेले बनाएको मास्कको चर्चा सामाजिक सञ्जालमा चुलिएको छ ।
गहना विक्रेता दीपक चौकसीले भनेका छन्, ‘मलाई हिराजडित मास्क बनाउने आइडिया मेरा ग्राहकबाट आएको हो, जसको घरमा बिहे थियो। पतिपत्नी दुवैले यस्तो मास्कको अर्डर गरे।
त्यसपछि उनले आफ्ना डिजाइनरहरूलाई मास्क बनाउने काममा लगाए। उक्त मास्कमा शुद्ध अमेरिकन हिरा जोडेर बनाइएको छ।
यसअघि भारत महाराष्ट्रमा एकजनाले सूनको मास्क लगाएर चर्चा बटुलेका थिए। त्यसको मूल्य पनि झण्डै ३ लाख थियो।