४५ करोड हिनामिना गरि फरार रहेका अध्यक्ष चौधरी प्रहरी नियन्त्रणमा

  Sampatti News

July 12, 2020

बाँके। बाँकेको नेपालगन्जमा रहेको एक सहकारीको ४५ करोड रकम हिनामिना गरी फरार रहेका ब्यक्ति प्रहरी फन्दामा परेका छन्। जिल्ला नै हल्लाएको ठगी काण्डका मुख्य आरोपी सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जको सञ्चालक समितिका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीको खोजी सूचीमा रहेका चौधरी नेपालगन्जमै रहेको विशेष सुराकीको आधारमा प्रहरीले शनिबार विहान उनलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक सुभाष खड्काले जानकारी दिएका छन ।

उक्त रकम हिनामिना घटनामा आरोपित मध्य अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो। कतिपयका विरुद्ध मुद्दा दायर भइसकेको छ र, फरार रहेका चौधरी माथिको अनुसन्धानबाट चौधरी दोषी ठहरिए उनका विरुद्ध पनि कानूनी प्रकृया अघि बढाईनेछ ।

यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ । उनीहरु कारागारमा सजाय भोगिरहेका छन् ।अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणी बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख धरौटी मागिएको थियो । बज्राचार्य २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् ।

जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको थियो ।

सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका थिए ।

प्रकाशित मिति:July 12, 2020