शिक्षाका दिगो विकास लक्ष्य कार्यान्वयनको तयारी भईरहेको मन्त्री पोखरेलको दाबी

  Sampatti News

July 13, 2020

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यमा समावेश शिक्षासम्बन्धी लक्ष्यलाई प्रदेश र स्थानीय तहमा कार्यान्वयन गर्न त्यसको प्रारुप तर्जुमाको तयारी भइरहेको बताएका छन् ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका ३२औँ वार्षिकसभामा भर्चुअलरुपमा अध्यक्षता गर्दै मन्त्री पोखरेलले दिगो विकासको लक्ष्य नं ४ मा भएका शिक्षासम्बन्धी प्रतिबद्धता र प्राथमिकताको राष्ट्रिय कार्यान्वयन ढाँचा तयार भइसकेकाले अब प्रदेश र स्थानीय तहमा निर्माण गरिने जनाउनुभएको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्मका लागि तयार गरेको उक्त लक्ष्यमा सबैका लागि ‘समावेशी, समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता र जीवनपर्यन्त सिकाइको प्रवर्द्धन’ का विषयवस्तु उल्लेख गरिएका छन् ।

आयोगका अध्यक्ष मन्त्री पोखरेलले राष्ट्रिय शिक्षा नीति, राष्ट्रिय विज्ञान तथा नवप्रवर्तन नीति जारी भइसकेकाले त्यसको कार्यान्वयनमा पनि सरकार लागि रहेकाले विद्यमान कोरोना महामारीको विषम स्थितिमा विज्ञान, प्रविधि र अनुसन्धानलाई आत्मसात् गर्दै सबैले शैक्षिक विकासमा पहल गर्नुपर्नेमा जोड दिए ।

ुहाम्रा विश्वविद्यालयले ज्ञान दिने मात्रै होइन, नयाँ युगतर्फ जान लागेको समयलाई बुझेर ज्ञान निर्माण गर्न अनुसन्धानलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ । नयाँ पुस्तालाई सकारात्मकतातर्फ डोर्याएर लानसक्ने शिक्षाको विकास गर्न आवश्यक छु, मन्त्री पोखरेलले भने, ुहामीले थोत्रा कुरा भत्काएर नयाँ बनाउनुपर्छ, यसका लागि तागत चाहिन्छ । सबै शिक्षाकर्मीको जोड यसमा हुनुपर्छ । युनेस्को सचिवालयले पनि यसका लागि नयाँ आर्थिक वर्षको शुरुमै स्पष्ट खाका ल्याएर कार्यान्वयन गरोस् ।

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले विषयगत समितिका लागि सम्पर्क व्यक्ति तोकी समन्वय र सहकार्य बढाइने बताउँदै स्रोतसाधनको दायरामा वृद्धि गरिने जनाउनुभयो । उहाँले युनेस्को सचिवालय र निजामती स्मारक पार्क, यज्ञडोल सामुदायिक वन पर्या–पर्यटन व्यवस्थापन समितिबीच युनेस्को सङ्ग्रहालय ग्राम निर्माणका लागि सम्झौता भएको पनि जानकारी दिए ।

आयोगले युनेस्को क्लबमा आबद्ध विद्यालयको सङ्ख्या ७४ बाट बढाइ १०५ पुर्याउने लक्ष्य दिएको छ ।

सचिवालयका सचिव खगराज पौडेलका अनुसार नेपाल सरकारबाट चालू आवमा रु एक करोड ५२ लाख निकासा भएकामा रु एक करोड ३२ लाख खर्च भएको छ । सचिवालयले युनेस्को मुख्यालय, पेरिस र अन्य साझेदारीका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

युनेस्को काठमाडौँका शिक्षा प्रमुख बलराम तिमल्सिनाले सचिवालयले दीगो विकासका लक्ष्यमा समावेश भएका कार्यक्षेत्रको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । सभामा पूर्वविज्ञानमन्त्री गणेश साह, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, आयोगका सदस्य रहेका विभिन्न विश्वविद्यायका उपकुलपति तथा प्राध्यापक र विभिन्न मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो । आयोगले युनेस्कोको विश्वव्यापी मान्यता र आदर्शलाई मार्गदर्शन बनाउँदै शिक्षा, विज्ञान, संस्कृति, आमसञ्चार, सामाजिक, मानव तथा जीवनमण्डल र अन्तरराष्ट्रिय हाइड्रोलोजिकल कार्यक्रमका कार्यक्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति:July 13, 2020