अहिले अयोध्या र रामको होइन, कालापानी र लिपुलेकको चिन्ता गर्ने समय होः भीम रावल

Nepal Cover
३० असार २०७७, मंगलवार
image

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावलले अहिलेको समय अयोध्या र रामको विषय नभई लिपुलेक र कालापानीको बिषयलाई ध्यानदिनुपर्ने समय भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अयोध्या विषयक अभिव्यक्तिमाथि प्रश्न उठाउँदै रावलले अहिलेको समय अयोध्याको भन्दा पनि कालापानी लिपुलेकको बारेमा चिन्ता गर्ने समय भएको बताएका हुन्।

रावलले मंगलबार ट्वीट गर्दै भारतले मिचेका सीमा, तराईका बस्ती डुबान र कालापानीबाट भारतीय फौज हटाउनुपर्ने विषय उठाउनुपर्नेमा प्रधानमन्त्रीले यस्ता अभिव्यक्ति दिएको उल्लेख गरेका छन्।

गम्भीर विषयमा पार्टी र सरकारसँग छलफल गर्न नपर्ने भन्दै उनले प्रधानमन्त्रीमाथि प्रश्न पनि उठाएका छन्।

‘यो बेला सीमा क्षेत्र मिचिएको,तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो,’ रावलको प्रश्न छ, ‘विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?’

सोमबार प्रधानमन्त्री ओलीले हिन्दुहरूका भगवान् श्रीराम राम भारतमा नभई नेपालमा जन्मिएको अभिव्यक्ति दिएका थिए।