क्षतिको विवरण सङ्कलन शुरु

  Sampatti News

July 15, 2020

तनहुँ । आइतबार परेको भीषण वर्षापछि आएको बाढीपहिरोका कारण जिल्लामा भएको क्षतिको विवरण सङ्कलन शुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले सम्बन्धित स्थानीय तहमार्फत क्षतिको विवरण सङ्कलन शुरु गरेको हो ।

बाढीपहिरोबाट जिल्लामा ठूलो नोक्सानी भएको र त्यसको यकिन तथ्याङ्क लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । प्रजिअ अधिकारीका अनुसार म्याग्दे गाउँपालिकाबाट ६१ घरधुरी विस्थापित भएको तथ्याङ्क कार्यालयलाई प्राप्त भइसकेको छ । म्याग्देका विस्थापित भएका घरधुरीलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत त्रिपाललगायतका सामग्री उपलब्ध गराइएको छ। “अन्य स्थानीय तहबाट पनि क्षतिको विवरण माग गरेका छौँ”, प्रजिअ अधिकारीले भन्नुभयो।

जिल्लामा करिब २०० घरपरिवार बाढीपहिरोबाट विस्थापित भएको अनुमान गरिएको छ । उनीहरुलाई सम्बन्धित स्थानीय तहसँगको समन्वयमा वैकल्पिक बासको व्यवस्था मिलाइनेछ । पहिरोका कारण पृथ्वीराजमार्ग र शाखा मार्गहरुका अधिकांश ठाउँमा रुखहरु ढलेको छ भने कतिपय ठाउँमा सडक भासिएको छ । ढलेका रुखलाई पन्छाएर राजमार्ग सञ्चालन गराइएको छ । जिल्लामा अधिकांश ठाउँमा खानेपानीको पाइप, बिजुलीको पोलहरुमा पहिरोले क्षति पु¥याएको छ ।

पहिरोपीडितको राहतमा जुट्न अपिल

नेपाली काँग्रेस तनहुँले पहिरोपीडितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई अपिल गरेको छ। पार्टीका जिल्ला सचिव विश्व बाँस्तोलाले प्रेस विज्ञप्ति जारी गर्दै पहिरोबाट पीडित भएकालाई राहत वितरण, बेपत्ताको खोजीकार्यमा सहयोग गर्न पार्टी कार्यकर्तालाई अपिल गर्नुभएको हो।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै काँग्रेसले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। प्राकृतिक विपत्तिबाट जिल्लामा कयौँ घर, गोठ क्षतिग्रस्त भएका, खेतीयोग्य जमीन बाढीले कटान गर्नुका साथै पाकेको अन्नबाली र पशुधनको क्षति भएको, सडक विद्युत्लगायतका सेवा संरचना अवरुद्ध भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ।

जिल्लामा अझै पनि बाढीपहिरोको जोखिम रहेको हुँदा सम्पूर्ण जिल्लावासीलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दै शोक, वियोग र पीडाको स्थितिमा घरवारविहीन पीडित परिवारलाई यथाशीघ्र राहत उपलब्ध गराई पुनःस्थापना गराउन काँग्रेसले माग गरेको छ।

रोपिसकेको धान बाढीले बगायो

तनहुँको विभिन्न भागमा रोपिसकेको धान बाढीले बगाएको छ। आइतबार रातिदेखि परेको भीषण वर्षाले खोलामा आएको बाढीका कारण धान खेतमा क्षति पुगेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। खोला आसपास रोपाइँ गरिएका धान खेतमा बाढी पसेर क्षति पुगेको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो। तिवारीले म्याग्दे गाउँपालिकाअन्तर्गतका खोला आसपासका अधिकांश धानखेतमा बाढीले क्षति पु¥याएको बताउनुभयो। “आइतबार रातिको वर्षाका कारण आएको बाढीले तनहुँमा रोपाइँ भइसकेको खेतमा क्षति पु¥याएको प्रारम्भिक जानकारी आएको छ, म्याग्दे गाउँपालिकाका खोला आसपासका अधिकांश खेत अनुगमन पनि गरियो, अन्य स्थानको अनुगमन भइरहेको छ”, तिवारीले भन्नुभयो ।

उहाँका अनुसार व्यास नगरपालिका–५ स्थित साँगेखोला आसपासका धानखेतमा पनि बाढीले क्षति पुगेको छ। त्यस्तै भानु नगरपालिकाको चुँदी खोला आसपास, भीमादको छिब्दीखोला आसपासका धानखेतमा पनि बाढीले क्षति पु¥याएको जानकारी आएको तिवारीले जानकारी दिनुभयो । “बाढीले ठूलै क्षति पु¥याएको अनुमान गरिएको छ, विस्तृत विवरण सङ्कलन गर्दैछौँ”, उहाँले भन्नुभयो। तिवारीका अनुसार खोला आसपासका १० मिटरसम्मका खेतमा बाढी पसेको छ ।

भीमाद नगरपालिका–७ स्थित छिब्दीखोलामा आएको बाढीले करिब १५ रोपनी धानखेत बगाएको स्थानीयवासी सूर्यप्रसाद रिजालले जानकारी दिनुभयोण्। भर्खरै रोपेर सकिएको खेत बाढीले बगाएको उहाँले बताउनुभयो। तनहुँमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा अधिकांश ठाउँमा रोपाइँ सकिएको भए पनि बाढीले क्षति पुगेपछि कृषक निराश बनेका छन्। कृषि ज्ञानका अनुसार केन्द्रका जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे र तीन हजार ५ सय हेक्टरमा चैतेधान खेती हुने गरेको छ। जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्रहरु धानखेतीका लागि प्रख्यात मानिन्छन्। जिल्लाका कृषकले सावित्री, मकवानपुरेलगायतका उन्नत जातका धानखेती गर्ने गरेका छन्।

प्रकाशित मिति:July 15, 2020