एक महिनामा पहिरोमा परि लगभग सय जनाको मृत्यु, ५० को हाराहारीमा बेपत्ता

  Sampatti News

July 16, 2020

काठमाडौँ । मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ४८ जना बेपत्ता रहेका छन् । प्राप्त विवरणअनुसार जेठ ३० देखि असार ३१ गतेसम्म पहिरोका कारण ८३ जना घाइते भएका छन्।

बिहीबार राति परेको वर्षाका कारण समेत सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको पहिरोमा जाँदा पाँच जना बेपत्ता भएका छन्।

यसवर्ष पहिरोका अकल्पनीय घटना हुँदा धेरै सर्वसाधारणले ज्यान गुमाउनु परेको छ। विज्ञका अनुसार एकै ठाउँमा धेरै पानी पर्ने, पानीको निकास व्यवस्थापन नहुने र ठाउँठाउँमा जथाभावी खनेर सडक बनाउने गर्दा पहिरो खसेको हो।

मुख्यतः पहिरोले पर्वत, बझाङ, सिन्धुपाल्चोक, पाल्पा, गुल्मी, जाजरकोट, तनहुँलगायत जिल्लामा बढी क्षति पुर्याएको छ। मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए। सिन्धुपाल्चोक लगायत केही जिल्लामा भने धेरै मानिस हराइरहेका छन्। अझै पनि खोजी कार्य जारी राखिएको छ। बाढी र डुबानका घटना भएपछि त्यसले ठूलो मानवीय क्षति भने गरेको छैन।

पछिल्लो २४ घण्टामा मात्रै मुलुकका विभिन्न सात स्थानमा पहिरो, आठ स्थानमा अविरल वर्षा भएको छ। एकदिनमा मुलुकभर कूल विपद्जन्य घटना २१ वटा भएको प्राधिकरणले जनाएको छ। स्याङ्जाको कालीगण्डकीस्थित खहरे खोलामा बाढी आएको भनी हेर्न जाँदा पहिरोमा परेर ६ जना पुरिएकोमा तीन जनाको मृत्यु भएको, एक जना बेपत्ता भएको र दुई जना घाइते अवस्थामा फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गरी जनाएको छ।

प्रकाशित मिति:July 16, 2020