वडाले नै कुहिएको चामल दिएपछि बासिन्दा आन्दोलित

  Sampatti News

July 16, 2020

दैलेख । जिल्लाको नारायण नगरपालिका वडा नंं. ४ का बासिन्दालाई वडाले वितरण गरेको राहत चामल कुहिएको भन्दै दुई दिनदेखि आन्दोलन गरेका छन्। केही वडामा बाडिएपनि नगरपालिकाको वडा नं ४ मा ५ सय ५५ घरधुरीलाई वितरण गर्ने भनेर लगेको २ सय १३ बोरा चामलमध्ये केही कुहिएको परेको भन्दै स्थानीयले आन्दोलन गरेको डिलकुमारी कटुवालले जानकारी दिनुभयो ।

नगरपालिका दैलेखको गोदाममा दुई महिनादेखि उक्त चामल थन्किएको थियो। जनतालाई समयमा प्रदान गर्नुपर्ने राहत वितरण नगरिनु वडा र नारायण नगरपालिकाको लापरवाही भएको हस्तबहादुर खड्काले बताउनुभयो। अध्यक्ष वीरबहादुर कटुवालले आफू वडामा नभएका बेलामा कर्मचारीले चामल वितरण गरेको जानकारी दिँदै जनताको राहतका लागि वितरण गरिएको र केही समस्या भए तत्काल सच्याउन आफूले कर्मचारीलाई निर्देशन दिएको बताउनुभयो।

नगरपालिकाको टेन्डर प्रक्रियामार्फत खरिद गरी गोदाममा राखेर वडामा पठाएपछि कर्मचारीले सोही चामल वितरण गरेको अध्यक्षले बताउनुभएको छ । वडा सचिव चक्रबहादुर कटुवालले आफूले कुहिएको चामल नदेखेको, केही स्थानीयले रिसिबीका कारण सामान्य मक्किएको एक÷दुई बोरा चामल सडकमा छरेर अनावश्यक टीकाटिप्पणी गरेको बताउनुभएको छ। जिल्ला प्रशासन कार्यालय दैलेखबाट बुधबार गएको टोलीले परीक्षणका लागि तीन बोरा चामलको नमूना लगेको छ।

प्रकाशित मिति:July 16, 2020