कञ्चनपुरमा १ सय २० दिनको लकडाउनमा ७२ जनाले गरे आत्महत्या

  Sampatti News

July 23, 2020

कञ्चनपुर । जिल्लामा लकडाउनअवधिमा ७२ जनाले आत्महत्या गरेका छन् । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन्। लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र लैङ्गिक हिंसाका घटना बढेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराए। “विष सेवन र झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क हेर्दा गत चैतदेखि असारसम्म अरु बेलाको भन्दा वृद्धि भएको देखिन्छ ।” उनले भने, “वैशाख र जेठ महिनामा गरी आत्महत्या दुरुत्साहनमा दुई वटा मुद्दासमेत दर्ता भएका छन्।”

प्रहरीका अनुसार विष सेवन गरेर गत चैत महिनादेखि ३२ जनाले आत्महत्या गरेका छन् भने सोही अवधिमा झुण्डिएर ४० जनाले आत्महत्या गरेका छन्। “लकडाउनमा बेरोजगारी, विपन्न समुदायका जीविका चलाउनेदेखि विविधखाले समस्याले पनि हिंसाका घटना बढेको देखिन्छ ।” उउनले भने, “लकडाउन अवधिमा हुने अपराध नियन्त्रणमा प्रहरी पनि सोहीअनुसार योजना बनाएर अघि बढेको छ।” लकडाउन अवधिमै आत्महत्या दुरुत्साहन मुद्दामा एक जना पूर्पक्षका लागि कारागार चलान हुनुका साथै एक जना तारेखका छुटेका छन्। “लकडाउनमा यहाँ आत्महत्या तुरुत्साहनमा २ वटा मुद्दा दर्ता गरेर कारवाही अघि बढेको थियो।”, प्रहरी प्रवक्ता थापाले बताए। विगतमा पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना बढी नै रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति:July 23, 2020