ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशलाई आग्रह

  Sampatti News

July 23, 2020

काठमाडौँ । सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि बङ्गालदेशका राजदूत मास्फीबिन्ते साम्सले गर्नुभएको बिदाइ भेटमा उहाँले ऊर्जा क्षेत्रमा बङ्गलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन आग्रह गर्नुभएको हो।

उहाँले नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गर्नुभयो। नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्री पुनले त्यसलाई २ देशबीच ऊर्जा व्यापारको कोशेढुङ्गाको संज्ञा दिनुभयो ।

नेपाल र बङ्गलादेशबीच २०७५ भदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बङ्गलादेशले नेपालबाट आगामी सन् २०४० भित्र ९ हजार मेगावाट बिजुली खरिद गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसअघि मन्त्रीपुन र बङ्गलादेशका ऊर्जामन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेशन)सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

भेटमा राजदूत साम्सले नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा मन्त्री पुनको नेतृत्वदायी र निर्णायक भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो। “नेपाल र बङ्गलादेशकाबीचमा ऊर्जा क्षेत्रमा सहकार्यको राम्रो वातावरण बनेको छ”, उहाँले भन्नुभयो, “तपाईंको कुशल नेतृत्व नभएको भए यो सम्भव थिएन।”

राजदूत साम्सले कोभिड–१९ महामारीका कारण नेपाल र बङ्गलादेश दुवैले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताउँदै आर्थिक–सामाजिक चूनौतीको मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो। कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण महामारी अन्त्यसँगै सुरु हुने र नेपालको ऊर्जा क्षेत्रमा लगानीको ठोस खाकाबारे वार्ता हुने राजदूत साम्सको भनाइ थियो।

यस्तै राजदूत साम्सीले मन्त्रीपुनलाई कोभिड–१९ महामारी अन्त्यलगत्तै बङ्गलादेश भ्रमणको निम्तासमेत दिनुभयो। मन्त्री पुनले बङ्गलादेशका राष्ट्रपति अब्दुलहमिद र समकक्षी (ऊर्जामन्त्री) नसरुल हमिदीलाई नेपाल भ्रमणको निम्ता दिनुभयो। राजदूत साम्सी आफ्नो साम्स चारवर्षे कार्यकाल पूरा गरी केही दिनपछि बङ्गलादेश फर्कंदै हुनुहुन्छ।

प्रकाशित मिति:July 23, 2020