पत्नि हत्याको सजाय कटाई आज रिहा भएका रञ्जनलाई छुटाउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता

Nepal Cover
८ श्रावण २०७७, बिहीबार
image

काठमाडौँ। बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै पुन,निवेदन दर्ता भएको छ। उनी पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बाहिर आएका हुन् । कोइरालाले पत्नी गीता ढकाल कोइरालाको हत्या गरी बोरामा राखेर मकवानपुरको टिस्टुङमा लगेर जलाएका थिए।

प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार छुटेका हुन्।

उने छुटेकै दिन अर्थात आज नै महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको महान्यायाधिवक्ता अग्नि खरेलले बताए।

‘कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकनको निवेदन दिएको हो।’

सर्वोच्च अदालतको फैसला चित्त नबुझे दुईवटा आधारमा पुनरावलोकनको निवेदन दिन सकिने कानुनी व्यवस्था रहन्छ।

फैसला उल्ट्याउन सक्ने नयाँ प्रमाण आएमा वा सर्वोच्च अदालतले त्यस्तै प्रकृतिको मुद्दामा पहिलेको व्याख्या भन्दा फैसला फरक ढंगले गरेमा पुनरावलोकनको निवेदन दिन सकिनेछ।

न्यायिक पुनरावलोकनबाट फैसला उल्ट्याउने वा यथावत राख्ने भन्ने अधिकार सर्वोच्च अदालतलाई हुन्छ तर जुन न्यायाधीशले फैसला गरेका हुन्,उनैले पुनरावलोकन निवेदनमाथि सुनुवाई गर्न भने मिल्दैन।

बिहीबार रञ्जन रिहा हुँदा प्रेमिका तारा रेग्मी कार लिएर उनलाई लिन गएकी थिइन् ।

रेग्मी पनि गीता हत्याकाण्डमा जेल परेर छुटेकी हुन्। उनीहरुले आफूहरुबीच विहे भइसकेको बताएका छन्।