फ्रान्स प्रवेश गर्ने १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य

  Sampatti News

July 25, 2020

काठमाडौँ । फ्रान्समा कोरोनाभाइरसको दृष्टीले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परिक्षण विना प्रवेश गर्न कडाई गरिने भएको छ।
प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १ देखि लागु हुने शुक्रबार जानकारी दिनुभएको हो।

सिमानामा सुरक्षा र सतर्कता कायम राख्ने सरकारको नीति अन्तर्गत परीक्षणलाई कडाई गर्ने व्यवस्था गर्न लागिएको उहाँको भनाई छ। उहाँका अनुसार अमेरिका, ब्राजिल, भारत, अल्जेरिया, बहराईन, इजरायल, दक्षिण अफ्रिका, कुवेत, कतार, युएई, ओमन, पनामा, पेरु, सर्बिया, टर्की र मडागास्करबाट आउने यात्रुलाई परीक्षण अनिवार्य गर्न लागिएको हो।
फ्रान्सले ती देशहरुलाई कोरोनाको दृष्टीकोणले खतरापूर्ण अवस्थामा रहेका देशहरुको सूचीमा राखेको अधिकारीहरुले जनाएका छन्।

“ती देशहरुमा परीक्षण नगर्ने रणनीति लिइएको छ। त्यसैले हामीले परीक्षण गर्नु पर्ने व्यवस्था गर्न लागिएको हो। यो कार्यान्वयन गर्न धेरै गाह्रो छ भन्ने हामीलाई थाहा छ। तै पनि गर्ने निर्णयमा पुगेको छौँ,” उहाँले भन्नुभयो।

सिमाना जोडिएको स्पेनबाट हुने आवतजावतलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा छलफल भइरहेको र आवत जावतलाई अति न्युन बनाउने प्रयास गरिने पनि उहाँले जानकारी दिनुभयो।
फ्रान्समा शुक्रबारसम्म एक लाख ८० हजार ५ सय २८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ती मध्ये एकैदिनमा एक हजार १ सय ३० जना थपिएको अधिकारीहरुले जनाएका छन्। यो संख्या एक दिन अगाडी एक हजार ६२ मात्रै रहेको थियो।

कोरोनाभाइरसका कारण फ्रान्समा अहिलेसम्म तीस हजार १ सय ९२ जनाको मृत्यु भएको छ। ती मध्ये दश जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

प्रकाशित मिति:July 25, 2020