पछिल्लो १ हप्तामा कोरोनाले विदेशमा थप १ नेपालीको मृत्यु

Nepal Cover
११ श्रावण २०७७, आईतवार
image

काठमाडौँ । पछिल्लो एक हप्तामा विदेशमा विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले बेलायतमा थप एकजना नेपालीको निधन भएको जानकारी गराएको हो।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १ सय ६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ।

समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कूल सङ्क्रमितमध्ये २९ हजार २ सय ४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन्। गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ। यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ।

सङ्घका अनुसार नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २ सय ६ पुगेको छ। यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ। समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ।