राष्ट्रबैंकले मंगलबार १० करोड बराबरको ट्रजरी बिल निकाल्दै

Nepal Cover
१२ श्रावण २०७७, सोमबार
image

काठमाडौं। सरकारले १० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। केन्द्रीय बैंकको ट्रेजरी बिलमार्फत ऋण उठाउन लागेको हो।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुने स्रोतले जनाएको छ। राष्ट्र बैंकले ९१ दिनका लागि १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी २०७७ साल कात्तिक ११ गते परिपक्क हुनेछ।

ट्रेजरी बिल १ वा १ वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथावित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।