July 28, 2020
काठमाडौँ । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । एक व्यक्ति, एक जम्मेवारीको नीति कार्यान्वयनका लागि विचार र विधिअनुसार पार्टी र सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव राख्दै आएका नेपालले आफू विचार र विधिको पक्षमा स्पष्ट रूपले उभिएको बताउँदै अध्यक्ष जसलाई बनाएपनि स्वीकार गर्ने बताएका छन्।
‘‘प्रधानमन्त्रीले फोनबाट आग्रह गरेर सम्पर्क व्यक्ति पठाएपछि भेटवार्ताका लागि बालुवाटार गएको हुँ, तर आशंका बढाउने गरी गलत ढंगले सूचना सम्प्रेषित होला भन्ने लागेर प्रचण्डजीको जानकारीमै त्यहाँ कुराकानी भएको होे,’ नेपालले भेटवार्ताबारे नयाँ पत्रिकालाई प्रस्ट्याउँदै भने, ‘त्यहाँ मैले अध्यक्ष बन्छु भन्ने कुनै प्रसंग उठाएको कुरा सत्य होइन, सकेसम्म २ जेठको सहमतिअनुसार प्रधानमन्त्री छोडिदिनुस्, प्रचण्डजीलाई प्रधानमन्त्री बनाएर जाऊँ, त्यस्तो होइन भने जसलाई बनाए पनि हुन्छ, तर अहिलेलाई अध्यक्ष छोड्नुस्, त्यसबाट पार्टी पनि राम्रोसँग चल्छ, तपाईं प्रधानमन्त्री भएर चलाउनुस्, राम्रो वातावरण बन्छ, मेरो सहयोग रहन्छ भनेको थिएँ, तर अर्कै तरिकाबाट बाहिर कुरा आयो।’
नेपालले भने‘ प्रधानमन्त्रीनिकट स्रोतले नेपालले प्रस्ताव राखेको दाबी गरेको थियो, तर यो गतल हो।’
आफ्नो प्रस्तावपछि प्रधानमन्त्री ओलीले दुवै पद छाड्न नमानेको र आफू बालुवाटारबाट हिँडेकोसमेत नेपालले खुलाए। ‘उहाँले दुवै पद छोड्दिनँ भन्नुभो, राति अबेर भइसकेको थियो, त्यसपछि म हिँडेको हुँ, तर उहाँले अझै कुरा सकिएको छैन, फेरि अर्कोपटक भेटौँला भन्नुभएको थियो,’ नेपालले भने।
नेपालले आफूले प्रधानमन्त्रीनिकट नेताहरूमार्फत ओलीले अध्यक्ष छाडेको अवस्थामा अहिलेलाई वामदेव गौतम, झलनाथ खनाल वा दोस्रो पुस्ताका जोकोहीलाई केन्द्रीय कमिटीबाट विधिसम्मत निर्णय गराएर जान सकिने प्रस्तावसमेत गरेको पनि प्रस्ट्याए।
‘उहाँका सम्पर्क व्यक्तिहरूमार्फत मैले अहिलेलाई वामदेव कमरेडलाई अध्यक्ष बनाएर जान सकिन्छ, उहाँलाई नबनाइए झलनाथजीलाई बनाऊँ, यदि अर्को पुस्तातिरै सोच्ने हो भने पनि शंकरजी या अरू जोकोहीलाई बनाएर जान पनि सकिन्छ, तर केन्द्रीय कमिटीबाट निर्णय गरेर अघि बढौँ, म आफ्नो राय राख्छु भनेको थिएँ,’ नेपालले भने, ‘मलाई अहिले अध्यक्ष वा प्रधानमन्त्री हुनु छैन, पार्टीमा विचार, विधि, पद्धति र राम्रो संस्कृति चाहिएको छ। सरकार लोकप्रिय ढंगले चलोस् भन्ने मेरो चाहना छ। कुनै पनि पदमा मरिहत्ते गर्ने मान्छे म होइन प्रस्टसँग भनेको थिएँ।’
प्रकाशित मिति:July 28, 2020
April 23, 2025
April 23, 2025