फुल्पिङकट्टी पहिरोमा मर्नेको सङ्ख्या ५ पुग्यो

Nepal Cover
१४ श्रावण २०७७, बुधबार
image

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोेटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।

साउन १ गतेराति पहिरोले घर पुरेर बेपत्ता भएका दुई जनामध्ये ८४ वर्षीया सोमबुटी शेर्पा र उनकी ४८ वर्षीया छोरी सेमसाङ शेर्पाको १४ दिनपछि आज शव फेला परेपछि मृतकको सङ्ख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

माथिबाट आएको पहिरोले स्थानीय ग्याल्जेन शेर्पाको घर बगाएपछि उनकी आमा, श्रीमती, बहिनी र दुई छोरीसहित पाँच जना पुरेको थियो । घरमुली शेर्पा भने राजधानीमा बस्दै आएकाले पहिरोबाट जोगिएका थिए।

दैनिक पानी परिरहेकाले माथिबाट लगातार लेदो माटो झर्ने क्रम जारी रहेकाले शव निकाल्न लामो समय लागेको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए। पहिरोबाट एक विद्यालयसहित तीन घर पुर्नुका साथै २४ घर उच्च जोखिममा परेका छन्। विस्थापित १ सय ६२ जनालाई विभिन्न सुरक्षित स्थानमा राखिएको वडाध्यक्ष शेर्पाले बताए।