डडेलधुरा । डडेलधुरामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रूपमा बन्धुप्रसाद बास्तोला हाजिर भएका छन्।
निर्वतमान प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त ६ महिनामै सरुवा भएसँगै नयाँ सिडिओको जिम्मेवारी लिई आएका बास्तोलाले जिल्ला प्रशासन कार्यालय डडेल्लधुरारामा हाजिर भएका हुन्।
गत मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उपसचिव सिडिओ रहने डडेलधुरामा सहसचिवको दरबन्दी कायम गरेसँगै मन्त्रालयले सहसचिव सिडिओ पठाउन थालेको हो।
साउन ९ को निर्णय अनुसार गृह मन्त्रालयबाट काज सुरुवा भई यहाँ आएका बास्तोला डडेलधुरामा आउने दोस्रो सहसचिव सिडिओ हुन् ।
यसअघि पहिलो सहसचिव सिडिओको रूपमा आएका पन्तको ६ महिनामै सरुवा भएको छ। यहाँ रहँदा पन्त विभिन्न विवादमा तानिएका थिए।
बुधवारबाट डडेलधुराको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यभार सम्हालेका बास्तोलाले बिहीबार जिल्लास्थित पत्रकारसँग परिचय तथा अन्तरक्रिया गरेका छन् । नयाँ प्रजिअ बास्तोलालाई जिल्लास्थित पत्रकारले सञ्चारमैत्री बन्न आग्रह गरेका थिए ।
उनले आफू यहाँ रहँदासम्म सञ्चारमैत्री बनेरै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पत्रकारलाई सत्य—तथ्य बुझेर कलम चलाउन आग्रह गर्दै जिल्लास्थित अन्य कार्यालयका सूचना अधिकारीलाई पनि पत्रकारले मागेका दिन मिल्ने सूचना दिन आफूले सहजीकरण गर्नेसमेत बताएका छन्।
कार्यक्रममा प्रजिअ बास्तोलाले विपद् जोखिम व्यवस्थापनमा सरकारले अहिले नयाँ नीति बनाएको जानकारी गराएका छन्। सरकारले बाढी, पहिरो तथा प्राकृतिक प्रकोपले नागरिकको मृत्यु भए दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको उनको भनाइ छ।
विपद् बाट मृत्यु भए यसअघि सरकारले एक लाख दिने गरेको थियो। प्रकोपका कारण घर पूर्ण रूपमा क्षति भए भू–कम्पपीडित सहर ३ लाखका दरले घर निर्माणका लागि राहत उपलब्ध गराउने नीति ल्याएको उनले जानकारी दिए।