पछिल्लो १ सातामा विदेशमा २८ नेपालीको मृत्यु

  Sampatti News

August 2, 2020

काठमाडौँ। पछिल्लो एक हप्तामा कोरोनाबाट विदेशमा २८ नेपालीले ज्यान गुमाएका छन्। विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ। कोरोनाबाट भारतमा २५, र साउदी अरेबियामा २ र दक्षिण अफ्रिकामा १ जनाले ज्यान गुमाएका हुन्। यससँगै सङ्क्रमणका कारण विदेशमा १ सय ८९ नेपालीको मृत्यु भएको छ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ।

यसैबीच सङ्घले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ। अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि सङ्घले जनाएको छ।

प्रकाशित मिति:August 2, 2020