महानगरपालिकामाअस्वभाविक भत्ता कटौति गर्न सचिव अर्यालले चाले बोल्ड कदम

  Sampatti News

August 3, 2020

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अस्वभाविक भत्तामा व्यापक कटौति गर्ने निर्णय गरेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत, सचिव एकनारायण अर्यालले अस्वभाविक भत्ता कटाउँदा बार्षिक ७ करोड बचत हुने भन्दै बोल्ड कदम उठाएका हुन् ।

सचिव अर्यालले आइतबार वातावरण व्यवस्थापन विभाग र सहरी स्वास्थ्य विभागको ५० प्रतिशत भत्ता यथावत राखेर बाँकी सबै भत्ता कटौती गर्ने निर्णय गरेका हुन्। यो निर्णय साउन महिनादेखि नै लागू हुने महानगरले जनाएको छ।

वातावरण विभाग अन्तर्गत चालक र कुचिकार र सहरी स्वास्थ्य महाशाखा अन्तर्गत कोभिड—१९ को काममा प्रत्यक्ष संलग्न कर्मचारीलाई सुरुको तलब स्केलको ५० प्रतिशत भत्ता उपलब्ध गराइनेछ।

सोही सेवा उपभोग गर्नको लागि सम्वद्ध महाशाखा प्रमुखको सिफारिस अनिवार्य गरिएको छ।
‘महालेखा परीक्षकको कार्यालयको बेरुजू सम्बन्धि प्रतिवेदन र सरकारको खर्च मितव्ययिता गर्ने नीति अनुसार प्रशासन विभागको राय बमोजिम भत्ताको हकमा दोहोरो नपर्ने गरी वातावरण व्यवस्थापन विभाग र सहरी स्वास्थ्य विभागको ५० प्रतिशत यथावत राखेर हाललाई अन्य सबै भत्ता कटौती गर्ने निर्णय भएको छ,’ महानगरको निर्णय कपीमा भनिएको छ।

यसैगरी, अब गाडीको हकमा इन्धन पुनरावलोकन गरिने भएको छ।

यसअघि किलोमिटर अनुसार इन्धन उपलब्ध गराइँदै आएकोमा इन्धन पुनरावलोकन गर्न महानगरका मेकानिकल इन्जिनियर पुरुषोत्तम शाक्यको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ।

जसको सदस्यमा इन्जिनियर प्रमोद डंगोल र लेखा अधिकृत श्याम न्यौपाने सदस्य छन्। कार्यदललाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ।

महानगरका सहसचिव राजेश्वर ज्ञवाली हाललाई इन्धनमा कटौती गरिएकोमा कार्यदलको प्रतिवेदन पेश भइसकेपछि फेरि कटौती हुने आधार रहेको बताउँछन्।

हाल महानगरका प्रमुख प्रशासकीय अधिकृतले मासिक एक सय लिटर, सहसचिवले ८० लिटर पाउने छन् भने विभागीय प्रमुख९महाशाखा प्रमुख तथा महानगरका गाडीमा ७० लिटर इन्धन हुनेछ। त्यस्तै, मोटरसाइकल प्रयोगकर्ताले प्रतिव्यक्ति १० लिटर मात्र इन्धन पाउने छन्।

महानगरको कामको शिलशिलामा उपत्यका बाहिर जानु परेमा र थप सवारीसाधन प्रयोग गर्नुपरेमा अधिकार प्राप्त अधिकारीको स्वीकृतिका थप इन्धन उपलब्ध गराइने भएको छ।

महानगरले नगर कार्यपालिकाको बैठकमा प्रतिव्यक्ति २ सय ५० र अन्य बैठकको हकमा प्रतिव्यक्ति १ सय ५० का दरले खाजा उपलब्ध गराउने निर्णय गरेको छ।

प्रकाशित मिति:August 3, 2020