दलीय सिन्डिकेटको कारण लोकतन्त्र खतरामा: प्रभु साहको टिप्पणी

बिभिन्न दलका नेता आजपामा प्रवेश

  Sampatti News Online

January 10, 2024

रौतहट २५ पुस। पूर्व मन्त्री तथा आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको टिप्पणी गरेका छन् ।
काठमाडौं सिंहदरबार स्थित आमजनता पार्टीको संसदीय दलको कार्यालयमा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रमुख दलहरुको सिन्डिकेटका कारण लोकतन्त्र खतरामा परेको टिप्पणी गरेका हुन्।
‘दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको छ उनले भने प्रमुख दलका शीर्ष नेताहरुको अहिले मनोमानी चलिरहेको छ । केही मुठिभर नेताका कारण अहिले दलतन्त्र हावी भएको छ’ पूर्व मन्त्री साहले भने, ‘अहिलेको व्यवस्था असफल भईसकेको छ । अब राष्ट्रपतिय व्यवस्थामा जानुको बिकल्प छैन।’
समृद्धि, सुशासन तथा राजनीतिक स्थायित्वका लागि अहिलेको व्यवस्था फालेर राष्ट्रपतिय व्यवस्थामा जानुपर्ने उनले बताए । केही दलका केही मुठिभर नेताका कारण दलीय तन्त्र हावी भएको बताउँदै उनले समृद्धि, सुशासन तथा राजनीतिक स्थायित्वका लागि अहिलकै व्यवस्थाबाट प्राप्त गर्न असम्भव रहेकाले व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए ।
सोही अवसरमा बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरेका छन् । एमाले काठमाडौंका नेतृ सविना बुढाथोकी, संयुक्त राष्ट्रवादी समाजवादीका पूर्वउपाध्यक्ष एवं धादिङ्ग एमालेका नेतृ देवी पण्डित, संयुक्त राष्ट्रवादी समाजवादीका सचिव किसन प्रसाद अधिकारी, केन्द्रीय नेता मोहन बास्तोला लगायतका अगुवा नेताहरु आजपामा प्रवेश गरेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
नवप्रवेशीलाई पार्टी अध्यक्ष साहले पार्टीमा स्वागत गर्दै बधाई तथा थप उज्जवल राजनीतिक भविष्यको कामना सहित शुभकामना दिएका छन् । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्नेका लहर चलेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले जनाएका छन् ।

प्रकाशित मिति:January 10, 2024