लाइसेन्सको लागि प्रयोग हुने ६ लाख कार्ड आज आउँदै, माघदेखि छपाइ फेरि सुरू हुने

Nepal Cover
२६ पुष २०८०, बिहीबार
image

काठमाडौं। चालक अनुमति पत्र स्मार्ट लाइसेन्स छपाइको लागि प्रयोग हुने कार्ड सकिएपछि करिब ८ महिनादेखि लाइसेन्स छपाइको काम रोकिएको छ।

आगामी माघको पहिलो सातादेखि भने लाइसेन्स छपाइको काम पुनः सुरू हुने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले बताए।

उनका अनुसार लाइसेन्स छपाइको लागि प्रयोग हुने यस्तो कार्ड बिहीबार नेपाल आइपुग्दैछ।

‘कार्ड सकिएर करिब ८ महिनादेखि छपाइ रोकिएको थियो। आज कार्ड आइपुग्छ। एक साताको परीक्षणपछि माघको पहिलो सातादेखि लाइसेन्स छाप्न थाल्छौं,’ उनले भने।

यस्तो कार्ड छाप्न गत फागुनमा सरकार र जर्मनी कम्पनी मुहेल्बर आइडी सेवा जिएमबिएचसँग सम्झौता भएको थियो।

कम्पनीले १४ लाख ९८ हजार ८० डलरमा १२ लाख कार्ड छाप्ने ठेक्का पाएको हो।

पहिलो चरणमा कम्पनीले ६ लाख कार्ड हवाई कार्गो गरेर पठाएको छ। बाँकी ६ लाख दोस्रो चरणमा ४५ दिनपछि नेपाल आइपुग्ने महानिर्देशक रिजालले बताए।

कार्ड आइपुगेसँगै विभागले दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने गरी तयारी गरिरहेको छ।