अंश मुद्दाले परिवारमा द्वेष र घृणा मात्रै छन् किन

  Sampatti News Online

January 12, 2024

मधेशमा वर्षौंदेखि अंश मुद्दा लडिरहेका दाजुभाइबीच द्वेष र घृणा मात्रै छैन, एकअर्कालाई निषेध गर्ने शैलीले परिवारको शान्ति खलबलिँदै छ ।

परिवारका सदस्य कस्ता छन् भन्ने आधारमा त्यो घरको वातावरण आकँलन गर्ने गरिन्छ । सामान्यतः आर्थिक रुपले सम्पन्न, पेसागत रुपमा अघि बढेका वा प्रगतिका हरेक पाइला पच्छ्याइरहेको पारिवारको वातावरण सुमधुर, प्रेमपूर्ण र सहृदयी हुने अपेक्षा गरिन्छ ।

तर परिवार भन्नेबित्तिकै विभिन्न संस्कृति, परिवेश, वातावरण र परिप्रेक्ष्यको समेत मिलनको केन्द्र भएकाले सधैं र सबै परिवारमा प्रेमपूर्ण वातावरण नै हुन्छ भन्न सकिदैन । घृणा, द्वेष, कलह, छलकपट र तनाव समेतको गठजोड परिवार हो । त्यसैले समाज एउटा समस्यै समस्याको जड हो भन्ने पनि गरिन्छ ।

परिवारहरु विस्तारै विभिन्न संस्कृति, विभिन्न भाषा र विभिन्न परिवेशको मिलनको रुपमा समेत विकसित हुँदै गएको देख्न पाइन्छ । एउटै परिवारमा विभिन्न देशका नागरिकहरुको मिलन भएको अनौठो संयोग मात्रै नभएर आफ्नै देशबाट समेत बाहिर गएर अन्यत्र मुलुकमा घरजम गर्दा परिवारहरु बहुसांस्कृतिक र बहुधार्मिक पनि बन्दैै गएका छन् । यसले समाजलाई एकपछि अर्काे गर्दै समावेशी र समायोजित पनि गरिरहेको छ ।  

एकदेशबाट अर्काे देशमा गएर विवाह गर्ने, परिवार बसाल्ने त्यसबाट व्यवहारिक समस्याहरु समेत बढाउने गर्दा कानुनी झण्झट, विवाद र उल्झनहरु समेत देखा पर्न थालेका छन् । जसरी परिवार विश्वव्यापी विषय बनिरहेको छ, त्यसैगरी समस्याहरुको पनि विश्वव्यापीकरण भइरहेको छ । एउटा देशको कानुनबमोजिम विवाह गर्ने र अर्काे देशमा गएर परिवार चलाउने, व्यवहार गर्ने र अर्काे देशको कानुनबमोजिम सम्बन्ध विच्छेद वा सम्पत्तिको विभाजन गर्दा वा अन्य खालका कानुनी र व्यवहारिक उल्झनहरु देखिंदा परिवारिक विवादहरुको समेत विश्वव्यापीकरण हुन पुगेको छ ।

समस्याहरु कस्ताकस्ता देखा पर्न थालेका छन् भन्ने विषय केलाउन आवश्यक छ ।

बाबु नारायणको पालामा २५ वर्षअघि सुरु भएको अंश मुद्दा लड्दालड्दा फतुवाविजयपुर–५ सन्तपुर दोस्तियाका मुकेश यादव हैरान भएका छन् । अंश मुद्दाको यो लडाइँले परिवारमा द्वेष र घृणा मात्रै होइन बोलचाल बन्द छ भने विवाह, पूजाजस्ता कार्यमा एकअर्कालाई निषेध गर्ने अवस्था बनिसकेको छ । नारायणका दुई भाइ थिए, धनही र बन्ती । यी तीनैबीच जग्गाको अंश मोहीलाई लिएर मुद्दा मामिला सुरु भएको हो । बाबुका पालाको मुद्दाले छोरा र नातिको परिवारको समेत शान्ति खोसेकामा मुकेश आजित छन् । भन्छन्, ‘दुश्मनलाई पनि कहिल्यै अदालतमा मुद्दा नपरोस् ।’ मुद्दा लड्न आउजाउ र वकिल खर्चका लागि बाबुले बैंकबाट १० लाख कर्जा लिएको मुकेशले सुनाए । मुद्दाले दाजुभाइको परिवारमा अशान्ति कति थपेको छ भने बाटोमा एकअर्कालाई नहेरी हिँड्छन् । उस्तै परे उनीहरूबीच सार्वजनिक स्थानमा वादविवाद र हात हालाहाल पनि भइहाल्छ । अंश मुद्दा देख्दादेख्दै नारायणको २०५८ वैशाख १७ मा निधन भयो ।

मुकेशकी आमा रामसुखियाले मुद्दाकै कारण आफ्नो ज्यान खतरामा परेको सुनाइन् । आफूमाथि कान्छो देवर बन्तीले पटक–पटक दुर्व्यवहार र कुटपिटको प्रयास गरेको उनले दाबी गरिन् । किचलोका कारण उनी तिहारदेखि चन्द्रपुर–६ स्थित जेठा छोरा मुकेशको घरमा गएर बसिरहेकी छिन् । बन्तीले भने भाउजूमाथि कहिल्यै दुर्व्यवहार नगरेको बरु अंश मुद्दाकै कारण यस्तो भएको बताए । ‘उनीहरू आफैं एकअर्काबीच झगडा गर्छन्, आरोप हामीलाई लगाउँछन्,’ उनले भने, ‘उल्टै हुँदै नभएको मुद्दा लगाएर झमेलामा पार्ने काम भएको छ ।’

नारायणका तीन दाजुभाइबीच २०५० सालमा अंशबन्डा भएको थियो । त्यसबेला तीनै जनालाई नियमानुसार २९र२९ कट्ठा भाग लगाइयो । उनीहरूका बुबा छनुरायको नाममा २३ कट्ठा मोही थियो । वीरगन्जका ईश्वरीप्रसाद मारबाडीको जमिन २०२७ सालदेखि खनजोत गरेबापत् मोही कायम भएको थियो । अंशबन्डा गर्ने बेला छनुरायका छोरा नारायण, धनही र बन्तीले मोही जग्गाको विषय थाती राखेका थिए । २०५५ सालमा भूमिसुधार कार्यालय गौर पुगेर बन्तीले मोही नामसारीको मुद्दा दिए । त्यही बेलाबाट यादव दाजुभाइबीच मनमुटाव सुरु भएको हो । २०५७ मंसिर १ मा भूमिसुधारले बन्तीको नाममा सन्तपुर दोस्तिया–७ स्थित कित्ता नम्बर ६५ को २३ कट्ठा जग्गाको मोही कायम गरिदियो ।

बुबाको नाममा रहेको मोही जग्गा भाइ बन्तीले आफ्नो नाममा पास गराएपछि नारायणले २०५७ चैत ७ मा उच्च अदालत हेटौंडामा मुद्दा दिए । उच्चले २०५८ फागुन १ मा बन्तीले नामसारी गरेको जमिन बदर गर्दै भूमिसुधार कार्यालय गौरमा अध्ययनका लागि मिसिल पठायो । भूमिसुधार कार्यालय गौरका अधिकृत उदय देवकोटा यादव परिवारसम्बन्धी मिसिल अझै फेला नपरेको बताउँछन् ।

बन्तीले हजुरबुबाको नाममा मोही कायम भए पनि भूमिसुधार कार्यालयले आफूलाई मोही पत्यार निर्णय गरिसकेको अवस्थामा दुःख दिन भाउजू र भतिजहरूले मुद्दा दिएको सुनाए । मुकेश भने उच्चले बदर गरेको जमिन अहिले आफूहरूलाई भोग गर्न काकाहरूले नदिएको बताउँछन् । उनले भने, ‘यो सरासर अन्याय भयो, त्यसैले न्याय कुरिरहेका छौं ।’ जमिन भोगचलनका लागि उनकी आमा रामसुखियाले जिल्ला अदालत गौरबाट निषेधाज्ञा आदेश जारी गराएकी छन् । मुकेशका अनुसार काका धनहीले २०५० सालमै २९ कट्ठा र मोहीको दाबी नगर्ने गरी थप ९ कट्ठा बढी लिएका थिए ।

नारायणका मुकेशसहित ५ छोरा र २ छोरी छन् । २०५७ फागुनमा कान्छो छोरा र २०७२ वैशाखमा दुई छोरीको विवाह भयो । विवाहमा दुवै काकाहरू नआएको मुकेशले बताए । ‘मुद्दाबाट सम्बन्धको छिनोफानो गर्न खोज्छन् भने हामीले सम्बन्ध बनाइराख्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘जीवनभर सम्बन्ध हुन्छ जस्तो लागेन, काकाहरूलाई नातागोताभन्दा सम्पत्ति प्यारो लागेको देखियो ।’ २०६५ फागुनमा छोरा प्रेमलालको विवाह गर्दा बन्तीले पनि दाजु नारायणका परिवारलाई बोलाएनन् ।

‘मोहीले कमाई आएको जग्गामा निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, पुत्री, छोरा, बुहारी, नाति, नातिनी, नातिनी बुहारी, दाजुभाइ वा दिदीबहिनीमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्था छ,’ भूमिसुधार कार्यालय गौरका अधिकृत उदय देवकोटाले भने, ‘नारायण यादवको हकमा के भएको हो मिसिल हेरेर मात्रै भन्न सकिन्छ । उनीहरूको मोहीसम्बन्धी मिसिल फेला परेको छैन ।’

मधेशका जिल्लामा दाजुभाइबीचको अंश मुद्दाका कारण परिवारमा विग्रह निम्तिएका घटना धेरै छन् । कतिपय परिवारमा त हजुरबुबाको पालाको मुद्दाका कारण नाति पुस्तामा समेत वैमनस्य देखिन्छ । चन्द्रपुर–५ थलही टोलका सन्तराम राई दाजुभाइबीचको अंश मुद्दा चलेको एक दशक भयो । उनीहरूबीचको मुद्दा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेर फैसला भइसकेको छ । तर, दुई परिवारबीचको विवाद अझै सल्टिएको छैन । विष्णु राईका तीन छोरा थिए– शेरबहादुर, सन्तराम र राजेन्द्र । कान्छो राजेन्द्रले २०६९ कात्तिक ७ मा जिल्ला अदालत गौरमा चन्द्रपुर–५ मा रहेको कित्ता नम्बर २००७ को १ कट्ठा, कित्ता नम्बर १९१८ को ४ कट्ठा र कित्ता नम्बर ३४३२ को ५ धुर गरी जम्मा ५ कट्ठा ५ धुर जग्गामा ५ भागको एक भाग अंश पाऊँ भनी मुद्दा दिए । त्यसपछि सुरु भयो तीन दाजुभाइबीचको विवाद ।

राजेन्द्रले बुबा विष्णु, आमा नेपाली कुमारी, जेठो दाजु शेरबहादुर, उनकी श्रीमती रणकुमारी र माइलो दाइ सन्तरामविरुद्ध अंश मुद्दा दिएका थिए । जिल्ला अदालत गौरले दाजु शेरबहादुरले शिक्षण पेसाको सञ्चय कोषबाट किनेको जग्गा भएकाले सो बाहेक अन्यमा अंश लाग्ने र राजेन्द्रले गरेको दाबी नपुग्ने भन्दै २०७१ कात्तिक ७ गते फैसला गरिदियो । यो मुद्दा उच्च हुँदै सर्वोच्च अदालतसम्मै पुग्यो । तर, दुवै अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरिदिए । मुद्दा खेपिरहेकै बेला बुबा विष्णुको २०७६ माघ २२ मा, आमा नेपाली कुमारीको २०७९ मंसिर १९ मा र राजेन्द्रको २०७३ माघ २३ मा निधन भयो । मुद्दाकै सिलसिलामा राजधानी गएका बेला भक्तपुरमा भएको सडक दुर्घटनामा राजेन्द्रको मृत्यु भएको श्रीमती गोमाले बताइन् । मुद्दा लड्दालड्दै २० लाखभन्दा बढी खर्च भइसकेको उनको भनाइ छ ।

गत असोज २६ गते जिल्ला अदालत गौरमा शेरबहादुर, सन्तराम र राजेन्द्रका परिवारबीच जग्गा किचलोमा मेलमिलापसमेत भयो । यसले पनि उनीहरूबीचको सम्बन्ध सुध्रिएन । सन्तरामले मुद्दाकै कारण जिल्लादेखि सर्वोच्चसम्म धाउँदा २५ लाखजति खर्च भएको सुनाए । उनले असोजको दोस्रो साता वडा नम्बर ५ को कार्यालयमा आफू र बुहारी गोमालाई बोलाएर छलफल भए पनि निष्कर्ष ननिस्केको सुनाए । मुकेश यादव र उनका काका बन्तीबीच कैयौंपटक खेतमै झगडा परिसकेको छ । यही विषयलाई लिएर इलाका प्रहरी फतुवाविजयपुरमा मुकेशकी आमा रामसखियाले निवेदन दिएकी छन् । ‘प्रहरीले छलफलबाट टुंग्याउन खोजे पनि मनै नमिलेपछि टुंगिँदैन रहेछ,’ मुकेशले सुनाए, ‘दुर्व्यवहार गर्नेलाई कारबाही हुनुपर्छ ।’

जिल्ला अदालत गौरमा साउनयता २ सय ३४ वटा अंश मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षबाट सरेर आएका समेत गरी ६ सय १३ वटा अंश मुद्दा छन् । स्रेस्तेदार उद्धव ढोडारीले चालु मुद्दामध्ये ४ सय ५० को हाराहारीमा दाजुभाइबीचको अंश मुद्दा रहेको बताए । अधिवक्ता रामदरेश साहले तराई मधेशका जिल्लामा पुर्ख्यौली सम्पत्ति सगोलमा राख्ने चलन रहेको र दाजुभाइको अंशबन्डा हुने बेला त्यही सम्पत्तिमा विवाद भई मुद्दा पर्ने गरेको बताए । तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति गम्भीराप्रसाद निराला मधेशमा अंश मुद्दा विकराल बन्दै गएको सुनाउँछन् । ‘सम्पत्ति भन्ने चिज नै खतरनाक हुन्छ,’ उनले भने, ‘दाजुभाइमा अंशबन्डा गर्दा केही तलमाथि भयो भने अंशमुद्दा दिइहाल्ने चलन बढेको छ । यसले समय, पैसा र सम्बन्ध बर्बाद पारिरहेको छ ।’

प्रकाशित मिति:January 12, 2024