बेरुतमा विष्फोट, ७० जनाको मृत्यु ४ हजार बढी घाईते

  Sampatti News

August 5, 2020

काठमाडौँ। लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ विष्फोट हुँदा ७० जनाको मृत्यु भएको छ। विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोट भएको हो। लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको जानकारी गराएका छन्।

लेबनानका प्रधानमन्त्री हसन दिआबले घटनापछि बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन्। घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन्।
गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको बताइएको छ । त्यहाँ २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट रहेको स्रोतले जनाएको छ।

गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । राष्ट्रपति माइकल इयोनले ट्वीट गरेर भनेका छन्, ‘२ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्वीकार्य छ।’

‘गोदाम घर वरपरका भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन्। विष्फोट यति भयानक थियो कि त्यसको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो।’ समाचार एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले बताए ।
विष्फोट कसरी भयो भन्ने खोजी भइरहेको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति:August 5, 2020