सिंहदरबार प्रवेशमा कडाई

  Sampatti News Online

August 5, 2020

काठमाडौँ। बुधबारबाट देशको प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाई गरिएको छ। उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेशमा निषेध गरेको हो।

पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि सावधानिका लागि बुधबारदेखि सिंहदबारमा अत्यावश्यक बाहेकका व्यक्तिको प्रवेशमा कडाई गरिएको सिंहदरबार गण प्रहरीले जनकारी दिएका छन्। सिंहदरबार भित्र कार्यरत कर्मचारी, अत्यवाश्यक काम लिएर पुग्ने व्यक्ति, प्रेस पास लिएका पत्रकारलाई मात्रै प्रवेश दिइएको जनाइएको छ।


मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैन, तर सामान्य रूपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनैपर्छ, त्यसमा रोक लगाइएको हो ।’

भिडभाड कम गरी संक्रमणको जोखिम कम गर्नका लागि संसदीय समितिको बैठक पनि केही समय नडाक्ने गरी तयारी भएको स्रोतले जानकारी दिएको छ।काठमाडौँ उपत्यकामा मंगलबार मात्रै ६२ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमण बढ्दै जाँदा सरकारले फेरि लकडाउन गर्ने विकल्पमा छलफल गरिरहेको छ।

प्रकाशित मिति:August 5, 2020