January 21, 2024
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नक्कली लाइसेन्स कान्डमा बदमासी गर्नेहरुलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
१ लाख बढी अवैध स्मार्ट लाइसेन्स जारी धन्दामा यातायात व्यवस्था विभागमा कार्यरत आधा दर्जन प्राविधिक मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त विवरण अनुसार अवैध लाइसेन्स वितरण धन्दामा यातायात व्यवस्था विभागका तत्कालीन २ सूचना प्रविधि निर्देशक(उपसचिव) र ५ जना कम्प्युटर इन्जिनियर मुछिएको पाइएको छ । उनीहरू अहिले अख्तियारले निगरानीमा छन् ।
आइतबार मन्त्रालयमा प्रदेश सरकारका भौतिक मन्त्रीहरुसँगको समन्वय बैठकमा बोल्दै मन्त्री ज्वालाले कसैले उन्मुक्ति नपाउने बताएका हुन । नक्कली लाइसेन्स कान्डमा छानबिन समिति बनाएर काम थालिएको उनले जानकारी दिए । यातायात व्यवस्था विभाग र मन्त्रालय दुवै निकायबाट छानबिन भइरहेको उनको भनाइ छ ।
गत केहि हप्ता अघि विभागले बनाएको एक समितिले एक लाख भन्दा बढी नक्कली लाइसेन्स वितरण भएको दाबी गरेको थियो ।
नक्कली लाइसेन्स कान्डमा दोषी ठहरिए कसैले पनि उन्मुक्ति नपाउने उनले बताए । उनले भने, ‘बदमासी गर्नेहरुलाई कानुनी दायरामा ल्याउँछौं, अख्तियार, सीआईबीबाट पनि अनुसन्धान हुन्छ, यसको निस्पक्ष छानबिन हुन्छ ।’ यसैगरी उनले सवारी लाइसेन्सको समस्या समाधान उन्मुख रहेको पनि बताएका छन् ।
उनले ६ लाख कार्ड तत्काल छपाइमा जान लागेको बताए । कुल पेन्डिङ १४ लाख कार्ड मध्ये पहिले ६ लाख तत्काल छापिने र अर्को ६ लाख क्रमशः छपाइ गर्ने गरी ट्र्याकमा लिइएको उनको भनाई छ ।
प्रकाशित मिति:January 21, 2024
November 24, 2024