मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम चलिरहेका बेला प्रहरी र जनमत पार्टीका नेता कार्यकर्ताबीच झडप

  Sampatti News Online

January 22, 2024

राजविराज । मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम चलिरहेका बेला प्रहरी र जनमत पार्टीका नेता कार्यकर्ताबीच झडप भएको छ । कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले विरोध गरेका हुन् । 

यादव मञ्चमा पुगेर कार्यक्रम सुरु भएपछि जनमतबाट निर्वाचित भएर प्रदेश सरकारको शिक्षामन्त्री रहेका महेशप्रसाद यादवको नेतृत्वमा जनमतका कार्यकर्ताले नाराबाजी गर्दै होहल्ला गरेका थिए ।

त्यही क्रममा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठीचार्ज गरेको छ भने प्रहरीको लाठी प्रहारमा प्रदेश सरकारका शिक्षामन्त्री यादवसमेत परेका छन् ।

मञ्चबाट प्रहरीले तितरबितर पारेपछि मन्त्री यादवसहित जनमत कार्यकर्ताले मञ्चनजिकै धर्ना र नाराबाजी गरिरहेका छन् । जसपा अध्यक्ष यादवलाई सुरक्षा घेरामा मञ्चमा पुर्‍याइएको छ भने मुख्यमन्त्री सरोजकुमार यादवसहितको उपस्थितिमा सुरक्षा घेराबीच औपचारिक कार्यक्रम सुरु भएको छ ।

मधेस कृषि विश्वविद्यालयको भवन शिलान्याश कार्यक्रमलाई लिएर केही दिनदेखि जनता समाजवादी पार्टी र जनमत पार्टीबिच द्वन्द्व चलिरहेको थियो । शिलान्यास कार्यक्रममा विश्वविद्यालयले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमतले आपत्ति जनाउँदै आएको थियो ।

प्रकाशित मिति:January 22, 2024