August 5, 2020
भोजपुर । लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ। जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई रु १०० जरिवाना लिन थालेको हो।
लकडाउन खुलेपनि देशभर कोरोना सङ्क्रमण दिन प्रतिदिन बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय भोजपुरले कडाइ गरेको हो । सदरमुकाम तथा आसपासका बजार क्षेत्रमा कडाइका साथ मास्क लगाउन अनिवार्य गरिएको भए पनि अटेर गरेर नलगाएको पाएपछि प्रशासनले बजार क्षेत्रमा छड्के अनुगमन गरेर कारबाही थालेको छ ।
बाटोमा हिँड्ने सर्वसाधारण, सवारी चालक, व्यापारी तथा मास्क नलगाई हिड्नेलाई रु १०० जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । पुरीले भन्नुभयो,‘केही दिन अगाडि जनचेतनासँगै मास्क पनि वितरण गरेका थियौँ, तर स्थानीय नागरिकले त्यसको उलङ्घन गर्न थालेपछि हामीले जरिवानास्वरुप रु १०० रुपैया तिराएको छौँ ।’’
कोभिड –१९ को रोकथाम तथा नियन्त्रणको लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुरुप न्यूनत्तम दुई मिटरको भौतिक दूरी कायम गर्न, सार्वजानिकस्थलमा हिँडडुल गर्दा मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन र सेनिटाइजरको अनिवार्य प्रयोगको बारेमासमेत सचेत गराइएको छ ।
अवज्ञा गर्ने नागरिकलाई सङ्क्रमण रोग निवारण ऐन, २०२० को दफा ३ अनुसार जरिवाना गरिएको सहयक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताउनुभयो ।
जिल्ला प्रशासनले गरेको यस्तो कार्यको स्थानीयवासीले प्रशंसा गरेका छन् । मास्क सरकारको लागि नभएर आफ्नै सुरक्षाको लागि भएकाले यसको सबैले पालना गर्नुपर्ने स्थानीयवासीले बताएका छन् । प्रशासनको यस्तो कार्यले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उनीहरुको भनाइ छ । आज मास्क नलागाई हिँड्ने ९८ जनालाई कारवाही गरिएको छ । यस्तै सदरमुकाम आसपासका क्षेत्रमा गस्ती परिचालन गरी आगन्तुक सर्वसाधरण र सवारी साधनमासमेत कडा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:August 5, 2020
March 28, 2025
March 28, 2025