बेरुत विस्फोटन, ३ लाख मानिस विस्थापित

  Sampatti News

August 6, 2020

काठमाडौँ । लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै ३ लाख मानिस विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले विस्थापित हुनु परेको अधिकारीहरुले जनाएका छन्।

स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण संकलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताए । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार अबेर विनाशकारी र शक्तिशाली विष्फोट भएको थियो । विस्फोटनमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् ।

करिब दुई हजार ७ सय ५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको स्थानीय बासिन्दाले बताएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो।

लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विष्फोटलाई देशको ठूलो विपत्तिको रुपमा लिइएको बताए। उनले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि जनाएका छन्।

विस्फोटनको घटनाप्रति विश्वभरबाट सहानुभूति र समवेदना व्यक्त भइरहेको छ। कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन्।

प्रकाशित मिति:August 6, 2020