प्रहरी ज्यादती बीच मधेश प्रदेश बन्द पूर्णसफल भएको दाबी

  Sampatti News Online

January 26, 2024

रौतहट १२ माघ। प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एकदिने मधेश प्रदेश बन्दको बिहीवार आंशिक प्रभाव परेको छ। राष्ट्रीयसभाको निर्वाचन लक्षित गरी आव्हान गरिएको बन्दको आंशिक प्रभाव परेको हो। बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आव्हान गरिएको बन्द लाई पूर्ण प्रभावकारी बनाउन आमजनता पार्टीका कार्यकर्ताहरु प्रदेशको राजधानी जनकपुर लगायत प्रदेशको सबै जिल्लाहरुमा बिहीवार बिहानै देखि टायार बालेर प्रदर्शन गरेका थिए।
पार्टी निकट आईटी आर्मीका केन्द्रिय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा जनकपुरमा भएको प्रदर्शनमा महिला पुरुष गरी दर्जनौं मानिस सहभागी थिए। जबर्जस्ती पसल बन्द गराउन खोजेको तथा सरकारी गाडीमा आक्रमणको प्रयास गरेको भन्दै प्रहरीले जनकपुरधामको रामानन्द चौकबाट आजपा उपाध्यक्ष एवं सभासद् तिलक थापा, महासचिव उपेन्द्र साह, सचिव समिना हुसेन, प्रवक्ता चन्द्र भूषण साह महिला मोर्चाका अध्यक्ष बबिता साह, इन्चार्ज सिमल साह सहितका नेताकार्यकर्तालाई पक्राउ गरेको थियो।
उता आजपा उपाध्यक्ष रितादेवी साह, उपमहासचिव अरुण घिसिङ, प्रदेश सचिव ममता शर्मा, आईटी आर्मीका उपाध्यक्ष सुमन यादव लगायत पनि पक्राउ परेका थिए।
यसैगरी आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहा, आजपा अध्यक्ष एवं सांसद प्रभु साहका स्वकीय सचिव बिजय यादव लगायतका पनि पर्साबाट पक्राउ परेका थिए ।
रौतहटको चन्द्रनिगाहपुर गौर लगायत स्थान बाट जिल्ला इन्चार्ज त्रिभुवन साह, आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरी लगायत २१ जना नेता कार्यकर्ता पक्राउ परेका थिए। यस्तै आजपाका कार्यकर्ताहरुले सप्तरीको रुपनीमा रागमार्ग अवरुद्ध पारेका थिए।
मधेश प्रदेश प्रहरी प्रवक्ता एसएसपी श्याम कुमार कुशवाहाले राष्ट्रिय सभा निर्वाचनकै बीच गरिएको बन्दका कारण केही असहजता उत्पन्न भएपनि सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएका छन्।
प्रवक्ता कुशवाहाका अनुसार मधेसमा राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ८ सय ७३ सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
बन्दसमेतको अवस्थालाई मध्यनजर गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको थियो। पूर्व पश्चिम राजमार्गमा बिशेष निगरानी गरिएकाले बन्दको क्रममा प्रदेशमा कुनै अप्रिय घटना नभएको उनको भनाइ छ। प्रदेशभरी बाट पक्राउ परेका १०४ जना प्रदर्शनकारी लाई बिहीवार साँझ छोडिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी कुशवाहाले जानकारी दिएका छन।बन्दको कारण बजार, उधोग, शिक्षण संस्था समेत प्रभावित भएका थिए ।
आईटी आर्मीका केन्द्रिय अध्यक्ष चन्द्रभुषण साहले को बन्दी पूर्ण रुपमा सफल भएको दाबी गरेका छन्। प्रदेशको राजधानी जनकपुरमा ई रिक्सा बाहेक सार्वजनिक सवारीसाधन चलेका छैन भने सरकारी गाडीलाई प्रहरीले स्काटीङ गरेर चलाएको छ। प्रदेशको सबै जिल्लाको अवस्था उस्तै छ, सबै जिल्लामा सवारीसाधन न्यून संख्यामा चलेको छभने पसलहरु पनि विगतको तुलनामा निकै कम खुलेको अध्यक्ष साहले बताएका छन्। शान्तिपूर्ण प्रदर्शन गर्ने आजपाका पुरुष संगै महिला कार्यकर्ता माथि प्रहरीले ज्यादती गरेको उनको आरोप रहेको छ।
पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बिहीवारको मधेश प्रदेश बन्दको कार्यक्रम सफल बनाउन सहयोग गरेका पार्टी कार्यकर्ता देखि आम जनसमुदाय प्रति आभार ब्यक्त गरेका छन्। उनले नेपाली नागरिकको हकहितको लागि पार्टीले गरिरहेको कार्यक्रमहरुमा खुलेर साथ दिन आग्रह समेत गरेका छन्।
बन्दलाई पूर्ण प्रभावकारी बनाउन आजपा कार्यकर्ताहरुले बुधवार साँझ जनकपुर लगायत प्रदेशको सबै जिल्लाहरुमा मसाल जुलुस प्रर्दशन गरेका थिए। बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आजपाले लामो समय देखि बिभिन्न खाले आन्दोलन गर्दै आएको छ । सञ्जय मिश्रा

प्रकाशित मिति:January 26, 2024