विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच हानाहान, प्रहरीविरुद्ध पूर्व एसपी फायर

  Sampatti News Online

January 28, 2024

काठमाडाैं । अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धित देशको मात्रै नभएर अन्तरदेशीय सुरक्षाको समेत गम्भीर चासो भएको स्थान हो । तर त्यही अन्तर्राष्ट्रिय नाकामा खटिने सरकारी निकायबीच सौहार्द वातावरण छैन ।

नेपालबाट बाहिरिनेको प्रहरीले सुरक्षा जाँच गर्दै आएको छ । विमानस्थलभित्र खटिएका कर्मचारी पनि त्यही घेरामा हुन्छन् । त्यही विषयमा अध्यागमन कर्मचारी र प्रहरीबीच पटक-पटक विवाद हुँदै आएको छ । आज त विमानस्थल अध्यागमनको अवस्था झन् असहज देखियो ।

कसैले प्रहरीमाथि त  कसैले अध्यागमन कार्यालका कर्मचारीमाथि दोष लगाइरहेका छन्। शुक्रबार दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले  हातपात गरेका थिए।

यसैबीच, नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गर्नु गलत भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रहरीले गाली खान र सहन सिक्नु पर्ने बताएका हुन्। उनले हरेक गालीका लागि कुटपिट गर्ने र गोली हान्ने हो भने दिनैपिच्छे मानिस मारिने बताएका छन्। अध्यागमनमा जे भयो त्यो  प्रहरीको उपल्लो नेतृत्व र बिमानस्थलमा खटिएका नेतृत्वको कमजोरी, नालायकिपन, बेकुफि भएको उनको भनाइ छ।

उनले लेखेका छन्, ‘अन्तराष्ट्रिय विमानस्थलमा भएको गतिविधिहरूले अन्तर्राष्ट्रिय महत्त्व राख्छन्। अन्तराष्ट्रिय विमानस्थलमा अनुशासित, संयमित, संवेदनशिल, मर्यादित हुनु सबैको दायित्व हो चचाहे प्रहरी या अध्यागमन कर्मचारी। अध्यागमनका अधिकृतले भनेको कुनै कुरा चित्त बुझेन भने  प्रहरीले सम्बन्धित निकायमा  भन्नू पर्थ्यो। जसका लागि त्यहाँ खटेका या उपस्थित प्रहरीका कमाण्डरले अध्यागमन अधिकृतको कुनै कुराआपत्तिजनक लागे सर हजुरको यो कुरा ठिक भएन भनेर भन्नुपर्थ्यो न कि अध्यागमन अधिकृतलाई कुटपिट गर्ने। सामान्य कुरा पचाउन नसक्ने प्रहरीले भीड नियन्त्रणमा गोली अनावश्यक चलाउँछ र जनधनको क्षति हुन्छ। प्रहरीले गालि खान र सहन सिक्नुपर्छ हरेक गालीका लागि कुटपिट गर्ने र गोली हान्ने हो भने त कति मानिस मारिन्छन कति दिनै पिच्छे। त्यसैले त्यहा जे भयो त्यो प्रहरीको उपल्लो नेतृत्व र विमानस्थलमा खटिएका नेतृत्वको कमजोरी, नालायकिपन, बेकुफि हो। कुनै पनि हालतमा अध्यागमन अधिकृतलाई हातपात गर्नु हुँदैन थियो। माथिल्ला अधिकृत बसेर अझ मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई समेत सम्मिलित राखेर त्यहाँ के भएको थियो भन्ने कुराको छलफल निकालेर निचोड निकालिनुपर्ने थियो न कि कुटपिट।’

अधिकार क्षेत्रबारे आरोप-प्रत्यारोप

प्रहरी जवानसँग अधिकृत मोक्तानले विवाद गरेको देखेपछि अन्य प्रहरी पनि त्यही आइपुग्छन् । सबैसँग मोक्तानको विवाद हुन्छ । त्यही क्रममा मोक्तानले प्रहरी जवानमाथि लात्ताले हानेको पनि सीसी क्यामेरा दृष्यमा देखिएको छ ।

त्यही क्रममा एक प्रहरीले मोक्तानलाई पनि धकेलेका छन् । विवाद चर्किएपछि सबै प्रहरीको एक समूह आएर मोक्तानलाई नियन्त्रणमा लिएर लैजान्छ । प्रहरी जवानले आफूमाथि हातपात गरेको मोक्तानको आरोप छ । विवाद चर्किएपछि अध्यागमन कार्यालय प्रमुख गोगन हमालसहितका कर्मचारीहरु प्रहरीको सीसी क्यामेरा कोठामा गए । जहाँ अध्यागमनका कर्मचारी निकै चर्को विवादमा देखिन्छन् ।

प्रहरीका अनुसार सीसी क्यामेरामा दृष्य हेरेपछि अध्यागमन कर्मचारी आक्रोशित भए । विमानस्थलकै अर्का एक प्रहरी अधिकृतका अनुसार सीसी क्यामेरा कोठामा पनि अध्यागमनका कर्मचारी र प्रहरीबीच चर्को विवाद भएको थियो । जसमा अध्यागमन प्रमुख हमाल स्वयं आफैं निकै आक्रोशित देखिन्छन् ।

सीसी क्यामेरामा खटिएका प्रहरी नायब निरीक्षक प्रकाश चौधरीमाथि दुर्व्यवहार हुँदा सीसी क्यामेरा राख्ने तीनवटा स्ट्यान्डमा क्षति पुगेको छ । विवाद समाधानका लागि अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ पनि विमानस्थल गए । केहीबेर विमानस्थलको कामै प्रभावित भयो ।

‘छानबिन समिति गठन गरेका छौं । दुई निकायबीच बुझाइमा समस्या भएको हो,’ महानिर्देशक तामाङकाे भनाइ छ ।

त्यसो त प्रहरी र अध्यागमन अधिकृतबीच यति विवाद आउनुको पछाडि प्रहरीले चलाएको कारबाही नै जोडिएको छ । भिजिट भिसाका नाममा विदेश जानेहरुलाई साथ दिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर कारबाही चलाइरहेको छ ।

दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । खड्काको साथबाट विदेश पठाउने ५६ जनाको सूची बरामद भएको थियो । त्यसपछि पनि अध्यागमन कर्मचारीले आफूहरुमाथि हस्तक्षेप भएको भन्दै कामै ठप्प पारेका थिए ।

विमानस्थलमा खटिएका अध्यागमन कर्मचारी र प्रहरी दुवै गृह मन्त्रालय मातहतका संयन्त्रहरु हुन् । तर अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील ठाउँमा खटिएका राज्य संयन्त्रबीचै सुरक्षा मापदण्ड पालनाकै लागि यति धेरै विवाद हुनु स्वभाविक छैन । राष्ट्रिय सुरक्षा र छविमाथि नै प्रश्न उठ्नेछ ।

प्रकाशित मिति:January 28, 2024