भ्रष्टाचारको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

January 29, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारूसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगका अनुसार उनीहरूले छायाँनाथ रारा नगरपालिका, वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको पाइएको छ । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारू, इन्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव–इन्जिनियर हस्त बहादुर मल्लले सडक स्तरोन्नति कार्यमा बढी मूल्याङ्कन गराएका थिए । जसका लागि उनीहरूले २८ लाख ६२ हजार ४५९ रुपैयाँ  बढी भुक्तानी गरेका थिए । उनीहरूसँग सोही रकम बराबरको बिगो माग गरिएको छ ।

 उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) अनुसार कसुरमा अठ्ठाइस लाख बैसठ्ठी हजार चार सय उन्साठी रुपैयाँ पैसा चौरासी बिगो कायम गरिएको छ । 

त्यस्तै, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उन बहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लले पनि यस कार्यमा संलग्न रहेको पाइएको छ । उनीहरूसँग पनि सोही रकम बराबरको बिगो माग गरिएको छ । गलत अनुगमन प्रतिवेदन सडक निर्माण अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, सदस्य हजर कला कामी र सोही न.पा.का इन्जिनियर महेश सिंह कठायतविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको छ । उनीहरूसहित वडा नं. ८ का वडाध्यक्ष कर्ण रावल र वडा नं. ७ का तत्कालीन सदस्य पशुपति शाहलाई सजाय तथा जरिवाना गर्नु पर्ने माग गरिएको अख्तियार जनाएको छ ।  

प्रकाशित मिति:January 29, 2024