एयरपोर्टमा भएको कुटाकुटको प्रतिबेदनआयो,असइ निलम्बित अधिकृत मन्त्रालय तानिए

  Sampatti News Online

February 1, 2024

काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन समितिले काम सकाएर प्रतिवेदन सचिव दिनेश भट्टराई समक्ष बुझाएको छ ।
गत शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच कुटाकुट भएको थियो । साथै त्यहाँका कार्यालय प्रमुख गोगन बहादुर हमाललाई समेत पछाडीबाट लात्तीले हानिएको थियो ।
यो प्रकरण पछि घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका थिए । समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उप–सचिव कुलबहादुर जिसी सदस्य छन् । ३ दिनको समय पाएको समितिले घटनामा संलग्नहरूसँग बयान लिने र क्लोज सर्किट (सीसी) क्यामराको फुटेज विश्लेषणको काम सकाएर हिजो प्रतिवेदन बुझाइएको छ ।

छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई जिम्मेवारीबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ । उनलाई मन्त्रालयमा तान्न भनिएको छ । समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक संजय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ ।यसरी अधिकृत र सहसचिवमाथि हातपात गर्ने लात्ती भकुर्ने प्रहरी साहायक निरीक्षक संजय तमाङ्गलाई तीन बर्ष अगाडि यस्तै प्रकृतिको घटनामा जोडिएपछि नसिहत पाइसकेका थिए । कम्युटर कोड ४७९४७८ र संकेत नम्बर सी ००१३३५७८ रहेका संजय त्यतिबेला अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा दरबन्दी थियो । उनले त्यस बेला पनि यस्तै बदमासी गरेको फेला परेपछि प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले अभिलेख किताबमा जनिने गरी नसहित दिने निर्णय गरेका थिए । प्रहरी नियमावली ०७१ (संशोधन सहित) को परिच्छेद १० को नियम ११० को (क) कसुरमा नियमावली ११९ को ४ (क) ले दिएको अधिकार प्रात्योजन गरी १०९ (क) २ बमोजिम पहिलो पटक अभिलेख किताबमा जनिने गरी नसिहत पाएका थिए । आफूलाई नसिहत दिने निर्णयविरुद्ध असई तमाङ पुनरावेदन गरेका थिए ।

सुरुमा अधिकृतलाई चेकजाँच गर्न आग्रह गर्ने प्रहरी जवान रवि रन्जन गुप्तालाई विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको बताइएको छ।

प्रकाशित मिति:February 1, 2024