कहिले हुन्छ मन्त्रीमण्डल हेरफेर ? मन्त्री हेरफेर गर्ने स्पष्ट संकेत

  Sampatti News Online

February 1, 2024

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक महिनाअघि नै मन्त्री हेरफेर गर्ने पक्षमा रहेका भए पनि अहिलेसम्म सफल हुन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले पुसमै मन्त्री हेरफेर गर्ने चाहना राखे पनि कांग्रेस सभापति देउवाले फागुनअघि गर्न नसकिने अडान लिएपछि ढिलाइ भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सत्तारूढ दलका शीर्ष नेताहरूबीच मन्त्री हेरफेर गर्ने विषयमा सहमति जुटिसकेको छ । तर पनि शीर्ष नेताहरू ‘पर्ख र हेर’कै अवस्थामा छन् ।मन्त्रीमण्डल हेरफेर गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले तत्काल हेरफेर नहुने बताएका छन् । उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन । गृहमन्त्री श्रेष्ठले समेत मन्त्री हेरफेर नहुने भन्दै अहिलेकै सबै मन्त्री रहने बताउँदै आएका छन् ।

फागुन दोस्रो सातापछि मन्त्रीहरू हेरफेर हुने सम्भावना छ । ११ माघको राष्ट्रिय सभा सदस्य निर्वाचन र ७ फागुनमा बस्ने कांग्रेसको महासमिति बैठकका कारण मन्त्रिपरिषद् हेरफेरमा ढिलाइ भएको भनेर भनिँदै आएको छ । कांग्रेसको महासमिति बैठकपछि मात्रै मन्त्रिपरिषद् हेरफेर हुने कांग्रेस स्रोतको दाबी छ । कार्यसम्पादनमा केही मन्त्रीको काम फितलो भएको र काम प्रभावकारी नभएको बताउँदै मन्त्री हेरफेर गर्ने उद्घोष प्रधानमन्त्री प्रचण्डले यसअघि नै गरिसकेका थिए ।

प्रधानमन्त्री प्रचण्डले पुसमै मन्त्री हेरफेर गर्ने चाहना राखे पनि कांग्रेस सभापति देउवाले फागुनअघि गर्न नसकिने अडान लिएपछि ढिलाइ भएको हो । तर, केही मन्त्रीले मन्त्री हेरफेर नहुने बताउँदै आएका छन् । सरकारमा सहभागी प्रायःजसो मन्त्रीहरू हेरफेरको विरुद्धमा रहेका छन् । प्रधानमन्त्री प्रचण्डले माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका मन्त्रीलाई हटाएर नयाँलाई ल्याउन खोजेका छन् ।

गृहमन्त्री श्रेष्ठले समेत मन्त्री हेरफेर नहुने भन्दै अहिलेकै सबै मन्त्री रहने बताउँदै आएका छन् । एक सार्वजनिक कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् हेरफेरको सम्भावना नरहेको दाबी गरेका छन् । कांग्रेस उपसभापतिसमेत रहेका मन्त्री गुरुङले बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा तत्काल मन्त्रीहरू परिवर्तन हुने अवस्था नरहेको दाबी गरे ।

सत्तारूढ दलका नेताहरूबीच तत्काललाई अहिलेकै मन्त्रिमण्डल सही रहेकाले परिवर्तन गरिरहन आवश्यक नपर्ने सहमति भएको दाबी मन्त्री गुरुङको छ । तर, माओवादी केन्द्रबाट मन्त्री भएकालाई सोही पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट मन्त्री भएकालाई सभापति देउवा र एकीकृत समाजवादीबाट मन्त्री भएकालाई अध्यक्ष नेपालले हटाएर नयाँलाई अवसर दिन खोजेका बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो एक वर्षे कार्यकाल पूरा गर्दै यस वर्षमा सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्री हेरफेर गरेर अगाडि बढ्न खोजेका छन् । 

प्रकाशित मिति:February 1, 2024