काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार (आज) उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्र प्रसाद जोशी लगायतका पदाधिकारीहरू विरुद्ध आरोप पत्र दायर गरेको हो । समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्त लगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरी बिहीबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।
टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष पदाधिकारी एवम् कर्मचारीहरुको संलग्नतामा जग्गा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचविखन गरेको खुलेको छ ।
समितिको स्वामित्वमा रहेको जग्गा व्यक्ति विशेष तथा संघ/संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्थाबमोजिम उपलब्ध गराउनु पर्नेमा त्यसविपरीत नक्कली कागजात खडा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको अभियोग पत्रमा उल्लेख छ ।