पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ आजदेखि हुने

Nepal Cover
२८ माघ २०८०, आईतवार
image

काठमाडौं । लामो अन्योलपछि रौतहट जिल्ला अदालतले आजबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दामा पेसी तोकेको छ ।

आइतबारदेखि निरन्तर सुनुवाइ हुने बताइएको छ। ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थालेको हो।

यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो। त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन्। १८ कात्तिक २०७६ रौतहट जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो।

पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ। तर, आलमले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।