दुर्गा प्रसाईंका राजनीतिक गतिविधिमा राप्रपा नेपालको समर्थन

  Sampatti News Online

February 11, 2024

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले साथ दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गरेका छन्। 

थापाले आज देशमा गणतन्त्र हटाएर पुनः राजसंस्था स्थापना गर्नुपर्ने माग राख्दै विभिन्न खालका आन्दोलन गर्दै आएका प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गरेका हुन् । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनको भनाई थियो । शनिवार जनकपुरका सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसदको मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे ।

उनले भने–‘हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउनुभएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । बिल्कुल सेरेमोनियल । संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौँ । हामीले परिकल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ । हामीले केवल राजसंस्था फर्काउने मात्रै कुरा गरेका छैनौं ।’

उनले गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको जिकिर समेत गरे । अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए ।

प्रकाशित मिति:February 11, 2024