अरुण चौधरीलाई अदालतले रिहा गरेकोमा गृहमन्त्री असन्तुष्ट

  Sampatti News Online

February 11, 2024

काठमाडौँ । उद्योगी अरुण चौधरीलाई अदालतले ‘हाजिर जमानी’ मा छाड्न आदेश गरेकोमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै श्रेष्ठले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सोमबारको इजलासले व्यवसायी चौधरीसहित संजय ठाकुर र अजितनारायण सिंह थापालाई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न भनी प्रहरीका नाममा आदेश दिएको थियो। 

पहुँचवाला व्यवसायी मुछिएको केसमा अनुसन्धान भइरहँदा अदालतले अनुसन्धानको घेरालाई साँघुरो बनाउने गरी आदेश दिएको भन्दै चौतर्फी विरोध भइरहेको छ। सामाजिक सञ्जालमा समेत काठमाडौं जिल्ला अदालतको उक्त आदेशको विरोध भइरहेको छ। 

‘अदालतले दुई दिनभित्र अनुसन्धान सकेर छाड्नु भनेर आदेश गरेको थियो यस्तो आदेश इतिहासमा कुनै अदालतले पनि गरेको थिएन’ बैठकमा उनले भने– ‘तर, हामी मान्छौँ ।’ बाँसबारीको १० रोपनी जग्गा घोटाला प्रकरणका आरोपीलाई छाडे पनि सरकारले मुद्दा नछाडेको श्रेष्ठले बताए । उनले भने– ‘आरोपी बाहिर भए पनि अनुसन्धान चलिरहेको छ ।’

प्रकाशित मिति:February 11, 2024