ओलीको आरोपः जनयुद्ध प्रधानमन्त्री बनेर सत्ता कब्जाका लागि मात्रै थियो

  Sampatti News Online

February 13, 2024

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन्। मंगलवार काठमाडौँमा आयोजित मानवअधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पछिल्ला गतिविधि हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताए। उनले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको बताए।

उनले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गरे। उनले जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गरे। उनले हिंसा किन गरेको थियो भन्नेकुरा हालसम्म पनि पुष्टि गर्न नसकेको उनले बताए। उनले युद्धका पीडितहरुले हालसम्म पनि न्याय नपाउनु दुःखद् भएको बताए।

उनले युद्धका पीडितहरूले हालसम्म पनि न्याय नपाउनु दुःखद भएको बताए। उनले भने, ‘हामीले साह्रै जटिल अवस्था पार गरेर आयौँ। देशमा हिंसा र द्वन्द्व किन र केका लागि भयो? त्यसको पुष्टि कसैले गर्न सकेको छैन। संविधानले बोल्ने र संगठित हुने अधिकार दिएको थियो।

आफ्ना कुरा राख्ने अधिकार दिएको थियो, हिंसा किन गर्नुपर्‍यो, त्यो पुष्टि अहिलेसम्म कसैले गर्न सकेको छैन। त्यस्तोमा हिंसा रहर हुन, लहड हुन सक्दैन। हिंसा शुरु गरेको २०५२ साल र ०६३ सालमा आइपुग्दा केमा फरक परेको थियो ? के कारणले फेरि त्यही व्यवस्था, त्यही प्रणालीमा आउनुपरेको थियो। त्यही संसदमा नलडीकन हिस्सा लिइयो। चुनाव नलडी सरकारमा पुगियो अनि हिंसा छोडियो।’

अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून १८ वर्षसम्म नटुंगिनु बिडम्वना भएको बताए। उनले हिंसा मचाउनेहरू सरकारमा पुगेर शासक भइसक्दा समेत पीडितलाई पीडामै राख्नु कतिसम्मको न्यायसंगत हो ? भन्ने प्रश्न गरे। उनले लोकतन्त्र काँग्रेसलाई मात्रै आएको बताए। ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरू सँगै सरकारमा रहेको वेला किन शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसकेको भन्दै प्रश्न गरे।

प्रकाशित मिति:February 13, 2024