August 9, 2020
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म विदेशमा १ सय ९१ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप २ जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २ सय ६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ।
सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ। गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ। यस साता अष्ट्रेलिया रहेका १ सय ४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ।
समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपाली सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन्। विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन थियो। हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९ सय २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। ती मध्ये ४७ हजार ४ सय ३७ कोरोना सङ्क्रमणबाट मुक्त भएका जनाइएको छ।
उद्धार जारी
विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट अलपत्र परेका ४६ हजार ३ सय १२ जनाको उद्धार गरिएको छ। ती मध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स १२ हजार ५ सय १, साउदी अरेबिया छ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ७ सय ९४, कुवेत ६ हजार ३ सय २९ , कतार ५ हजार २ सय ५१, अफगानिस्तान ३३, ओमान ६ सय ३६, म्यानमार २६, थाइल्याण्ड ३ सय २६, दक्षिण कोरिया ७ सय २०, बङ्गलादेश ८ सय ४१, माल्दिभ्स ७ सय ९, सिङ्गापुर २ सय ९७, हङकङ ८९, पाकिस्तान ७२, बहराइन ९ सय ८०, अमेरिका ४ सय २३, बेलायत २ सय २९, इजरायल १ सय २७, चीन २ सय ८ र टर्कीबाट १ सय १० जना नेपाली स्वदेश फर्किएका छन्।
फिलिपिन्स२ सय १, स्वीट्जरल्याण्ड १०, इराक ३९, दक्षिण सुडान २ सय ५०, सेन्ट्रल अफ्रिकन रिपब्लिक ६८, श्रीलङ्का पाँच, जापानबाट १ हजार २३ जना स्वदेश फर्किएका छन्। भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन्। तर स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्याङ्क यकिन छैन ।
विदेशमा विविध कारण मृत्यु भएका २ सय ४६ जनाको शव स्वदेश ल्याई परिवारलाई बुझाइएको छ। हालसम्म १ सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ। विदेशमा मृत्यु भएका ४ सय ९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ।
प्रकाशित मिति:August 9, 2020
April 16, 2025
April 16, 2025