ग्लोबल आईएमई बैंकका कर्मचारीमा कोरोना देखिएपछि बैंक शिल

  Sampatti News

August 9, 2020

लहान। लहानस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरिएको छ। साथै सोही बैंकमा काम गर्ने कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ।

लहान नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ कार्यरत कर्मचारीलाई यहाँस्थित एक होटलमा क्वारेन्टिमा राखिएको जानकारी दिए।

उनलाई रुघाखोकी र ज्वरोसहितको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । उनी अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसन रहेको स्वास्थ्य शाखाप्रमुख यादवले बताए।

सङ्क्रमित ती कर्मचारी केही दिनअघि लहानस्थित आन्तरिक राजश्व कार्यालयमा रहेको बैंकको काउन्टरमा बसेकाले आन्तरिक राजश्व कार्यालयका कर्मचारीलाई समेत क्वारेन्टिनमा राखिएको जनाइएको छ। बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएसँगै यहाँस्थित आन्तरिक राजश्व कार्यालयले समेत आजदेखि कार्यालयको सम्पूर्ण कार्य बन्द गरेको छ।

कार्यालय प्रमुख कमलबहादुर राजलवटले सूचना प्रकाशन गरी यो विषम परिस्थितिमा कार्यालयका कर्मचारीको पिसिआर परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट नआएसम्म कार्यालयको कामकाज बन्द गरिएको जानकारी दिएका छन्।

प्रकाशित मिति:August 9, 2020