अफगानिस्तानका घाज्नीमा बम हमला, ७ जनाको मृत्यु

  Sampatti News

August 9, 2020

काठमाडौँ। अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा ७ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी शहरको बाहिरी इलाकामा रहेको कोटाल रावा प्रहरी चौकीमा साँझ ७.४५ बजे बिस्फोट गराएका थिए।

प्रवक्ता तारेकले उक्त घटनाको अनुसन्धान थालिएको जानकारी दिनुभयो।

प्रान्तीय सरकारका प्रवक्ता वाहिदुल्लाह जुमाजादाले पनि घटनाको पुष्टि गर्दै आक्रमणकारीहरु प्रहरी चौकीभित्र प्रवेश गर्न खोजेका तर प्रहरीको प्रतिकारले उनीहरुको त्यो प्रयास सफल हुन नपाएको बताउनुभयो।

उक्त आक्रमणको घटना ४ सय जना विवादास्पद तालिबान बन्दीका विषयमा निर्णय गर्न लोया जिर्गा अर्थात समाजका ज्येष्ठ एवं प्रबुद्ध वर्गको बैठक बसिरहेका समयमा भएको छ। लोया जिर्गा बैठकमा अफगानिस्तानका विभिन्न भागबाट आएका तीन हजारभन्दा बढी सदस्यको सहभागिता छ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका ५ हजार १ सय लडाकूलाई जेलमुक्त गरिसकेको छ । तर तालिबानले जेलमा अझै बन्दी अवस्थामा रहेका ४ सय लडाकूलाई तत्काल रिहाई गर्नुपर्ने माग गर्दै आएको छ। सरकारको भनाईमा यी लडाकू ट्रक बम आक्रमण, अपहरण र नागरिक हत्याका आरोपी हुन्।

सरकार र विद्रोही तालिबानबीच लडाकूको रिहाईसँगै अन्तर–अफगान संवाद हुने र वर्षौंदेखिको गृहयुद्ध समाप्त हुने अपेक्षा गरिएको छ।

यसैबीच, लोया जिर्गाले अफगानी जेलमा बन्दी ४ सय लडाकूलाई मुक्त गर्न सिफारिस गरेको छ।

प्रकाशित मिति:August 9, 2020