March 1, 2024
भरतपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा पर्यटन विकासको प्रचुर सम्भावना भएको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले भरतपुरको विकासमा आफ्नो पनि योगदान भएको बताएका छन्। भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भरतपुरको सिटी हल, मुख्य राजमार्ग विकासमा आफूले बजेट पारेको स्मरण गरेका हुन्।
भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको शहर भएको बताए।
‘चितवन पर्यटनको प्रचुर सम्भावना देखेर नारायणी, कोशी हुँदै बङ्गालसम्म जोड्नका लागि आफूले जलमार्गको योजना अघि बढाइएको थियो।’ उनले त्यही योजनाअनुरुप अहिले निजी क्षेत्रले नारायणीलगायत नदीमा जलपर्यटनका पूर्वाधार निर्माण गरेको बताए। अध्यक्ष ओलीले चितवन पूर्व–पश्चिम र हुलाकी राजमार्गसँग जोडिएको जिल्ला भएकाले पनि यहाँको सम्भावना धेरै रहेको बताए।
भरतपुरमा पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको केन्द्र बनाउन सकिने भन्दै यहाँको विश्वविद्यालयले कृषि क्षेत्रमा मार्गदर्शनको काम गर्न सक्नुपर्ने उनले बताए। अध्यक्ष ओलीले भरतपुरको विकासमा आफू र आफ्नो पार्टी सधैँ सहयोग गर्न प्रतिबद्ध रहेको बताए।
प्रकाशित मिति:March 1, 2024