१२ कक्षासम्म सञ्चालन गर्न विद्यालयलाई एक करोड सहयोग

  Sampatti News

March 2, 2024

म्याग्दी | म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई एक करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ । कक्षा १२ सम्म सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पूनःमिलन अभियानमार्फत एक करोड ११ लाख रुपैयाँ सङ्कलन भएको हो ।

विसं २०७४ देखि थालिएको अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणी सापकोटाले नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिए । सङ्कलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको उनले बताए । गाउँकै विद्यालयमा दश जोड दुईको पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बस्नुपर्ने समस्या हटेको छ ।

दुई सय ४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म दुई सय सात जनाबाट सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका–४ बास्कुना घर भई हाल न्युजिल्याडमा रहेका लालबहादुर केसीले सबैभन्दा बढी २५ लाख सहयोग गरेको संयोजक सापकोटाले जानकारी दिए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) न्युजिल्याण्डका अध्यक्षसमेत रहेका उनले हजुरआमा गौमति खत्रीको स्मृतिमा रकम सहयोग गरेका हुन् ।

विद्यालयमा हाल करिब दुई सय ५० विद्यार्थी अध्ययनरत छन् । श्रवण क्षमता नभएका बालबालिकालाई लक्षित गरेर बहिरा स्रोत कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक भुवन रेग्मीले बताए ।

प्रकाशित मिति:March 2, 2024