आगामी १ गतेदेखि सञ्चालन हुने भनिएका सबै सेवा सञ्चालन बन्द

  Sampatti News

August 10, 2020

काठमाडौँ । आगामी (भदौ) १ गतेदेखि सञ्चालन हुने भनेका सबै सेवाहरु अझै नखोल्ने निर्णय भएको छ। कोरोनाको संक्रमण र मृतकको संख्या बढ्न थालेकाले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएका सेवा सरकारले तत्काल नखोल्ने भएको हो।

भदौ १ बाट लामो दूरीको यातायात सेवा, हवाई सेवा र विद्यालय भर्ना खोल्नेलगायतका निर्णय सरकारले गरेको थियो । तर,कोरोना संक्रमण दर झन् बढ्दो भएकाले आइतबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा मन्त्रीहरूबीच सरकारले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएका सेवा नखोल्ने निष्कर्ष निस्किएको एक मन्त्रीले बताए। यसबारे निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्छ । ‘सीसीएमसीमा मन्त्रीहरू सदस्य भएका कारण उनीहरूले मन्त्रिपरिषद्मा कुरा गर्ने र त्यसपछि मन्त्रिपरिषद्ले नै निर्णय परिमार्जन वा संशोधन गर्न सक्नेछ,’ सीसीएमसी सचिवालयका संयोजक महेन्द्रप्रसाद गुरागाईंले भने।

साउन ६ गतेबाट लकडाउन पूर्ण रूपमा हटेपछि सरकारले भदौ १ बाट आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक र अन्य उडान, अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल र विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्ने तथा लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति:August 10, 2020