भ्रष्टाचार नहटेसम्म सुशासन र समृद्धि आउँदैन : कानुनमन्त्री गुरुङ

  Sampatti News

March 3, 2024

रामपुर (पाल्पा), । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

आज तानसेन महोत्सवको उद्घाटनका अवसरमा मन्त्री गुरुङले भ्रष्टाचारीलाई कारबाही नगरेसम्म मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने भन्दै भ्रष्टाचार गर्नेलाई कानुनसम्मत कारबाही गरिने बताए । उनले भ्रष्टाचार नहटेसम्म मुलुकमा सुशासन तथा समृद्धि नहुने पनि उल्लेख गरे ।

भ्रष्टाचार अन्त्यका लागि वडाअध्यक्षदेखि मन्त्रीसम्मका सबैको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै उनले भ्रष्टाचारका फाइलहरु खोल्दा जताजतैबाट दबाब आएर काम गर्न कठिनाइ भएको बताए । ‘वडादेखि माथिसम्मका जनप्रतिनिधि र कर्मचारीमा अधिकृतदेखि माथिसम्मका सबैको सम्पत्ति छानबिन गर्छौ त्यसका लागि कानून समेत ल्याउने तयारीमा छौँ,’ उनले भने ।

तानसेन नगरपालिकाको आयोजनामा आजदेखि कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार भन्ने नारासहित महोत्सव सुरु भएको हो । महोत्सवमार्फत कृषि, पर्यटन, लघु तथा साना उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्य लिइएको छ ।

प्रकाशित मिति:March 3, 2024