आगलागी हुँदा एक महिलाको मृत्यु

  Sampatti News Online

March 3, 2024

इटहरी । सुनसरीको इटहरीमा शनिवार मध्यराति आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ६ बीपी चौकका विष्णुबहादुर खड्काको घरमा आगलागी भएको हो ।

मृत्यु हुनेमा ५२ वर्षीया गोपीमाया कटवाल छिन् । कटवाल सुतेको कोठामा आगलागी भएको हो । कोठाभित्र चुकुल लगाएको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘मृतकको कोठामा भित्रबाट चुकुल लगाइएको अवस्था छ,’ डीएसपी कार्कीले भने ‘आगलागीको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको छ ।’

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय, इटहरीका एक प्रहरीले जनाएको छ । मृतक कटवाल छेउको कोठामा छोराबुहारी सुतेका थिए । उनीहरूलाई भने केही भएको छैन ।

प्रकाशित मिति:March 3, 2024