जनकपुरमा बसको ठक्करबाट एकको मृत्यु र ६ जना घाइते

प्रहरीद्वरा आधा दर्जन अश्रुग्यास प्रहार

  Sampatti News Online

March 3, 2024

जनकपुर । जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

आइतबार प्रदेश-२-०२-००१ क ०४३१ नम्बरको एन्जल्स स्कुल बसले ठक्कर दिँदा सोही ठाउँकी ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अबाले जानकारी दिनुभयो । उहाँका अनुसार ठक्करबाट घाइते भएका पशुपति देवी, अम्बिका झा र ममतादेवी यादवलगायत ६ जनाको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको छ ।

यता चालकको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले ढुङ्गामुढा प्रहार गरेर स्कुल बसको सीसा फुटाइदिएका छन् भने बसलाई घेराउ गरेर विरोध प्रदर्शनमा उत्रेका छन् । 

स्थानीयबासिन्दाहरूले ठक्कर दिने बसलाइ जलाउने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ । स्थानीय बासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् । त्यसक्रममा करिब आधा दर्जन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:March 3, 2024