कामका लागि सूची बोकेर आएका छौं : गृहमन्त्री रवि

  Sampatti News

March 8, 2024

काठमाडौं । नवनियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरु कामका लागि सूची बोकेर आएको बताएका छन् । रविले देशभर सरकारी जग्गा हडपेर बसेकाहरुबाट सबै जग्गा सरकारको नाममा ल्याउने आफ्नो पहिलो निर्णय जसरी पनि कार्यान्वयन गराउने बताएका छन् ।

हडपेका सबै जग्गा खाली गरिनेछ, ७७ जिल्लामा यस्तो समस्या छ, हडपिएका जग्गा राज्यको नाममा ल्याउने मेरो पहिलो निर्णय हो, अघिल्लो कार्यकालमा यो थालेको थिएँ, अहिले पनि यसैलाई पहिलो निर्णय गरेर अगाडि बढेँ’, उनले भने ।

गृहमन्त्री भएको दुई दिनपछि सामाजिक सञ्जाल मार्फत आफू कम्प्रोमाइज नहुने बताएका छन् । ‘चेक लिस्ट’ सहित आएका छौं । ‘कम्प्रोमाइज’ हुन्न । केही समय ‘होम वर्क’ मा रहनेछौं,’ गृहमन्त्री रविले लेखेका छन् ।

नयाँ गठबन्धनमा रास्वपाबाट चार मन्त्री बनेका छन् । उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारी रविले सम्हालेका छन् । उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय, सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

नयाँ गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र एकीकृत समाजवादी सहभागी भएका छन् ।

प्रकाशित मिति:March 8, 2024